विहे अघि नै यौन सम्पर्क गर्न पाउनु पर्ने भन्दै युवा-युवतीले गरे आन्दोलन

जकार्ता, असोज ९ / इन्डोनेसियाको संसद्बाहिर नयाँ प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेर हटाएको छ ।प्रस्तावित कानुनमा बिहेअघि यौनसम्बन्ध राख्न नपाइने प्रावधान रहेको छ । यस्तै, सो नयाँ प्रस्तावित कानुनअनुसार राष्ट्रपतिको विरोध गर्नु अपराध मानिनेछ ।

सो मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भएको छ । मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मानिने छ ।

विवाहपूर्व यौन सम्बन्ध राख्नु अपराध मानिनेछ । जसमा आरोपीलाई एक वर्ष जेल सजाय हुनेछ । विवाह नगरी सँगै बसेमा ६ महिना जेल सजायको व्यवस्था गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झन्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन । स्वास्थ्य समस्या र बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ ।

संसद्मा प्रस्तावित कानुनमा मंलबार नै मतदान हुने योजना भए पनि राष्ट्रपति जोको विडोडोले थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रबारका लागि स्थागित गरिदिएका हुन् ।

मतदान सारिएको भए पनि इन्डोनेसियाली सो कानुन संसद्बाट पारित हुने आशंका व्यक्त गरिरहेका छन् । देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने कानुन पारित गरिएपछि सर्वसाधारण आक्रोशित छन् । हजारौं सर्वसाधारणले देशका विभिन्न सहरमा सडकमा भेला भएर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नेमा विद्यार्थीहरूको संख्या उल्लेख्य थियो ।

संसद्का सभामुखलाई भेट्ने माग राखेर जकार्तास्थित संसद् भवनबाहिर प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि प्रतिकार गर्दै प्रहरीले पनि अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको हो ।

एक महिलाले महिलाले ‘मेरो अंगमा सरकारको स्वामित्व छैन’ भन्ने नारा भएको पोस्टर बोकेकी थिइन् । योग्याकार्ता, मकास्सर तथा अन्य स्थानमा दुई दिनदेखि लगातार प्रदर्शन जारी छ ।

‘भ्रष्टाचार नियन्त्रण गर्ने निकायसम्बन्धी नयाँ कानुन जनताको हितमा नभएर भ्रष्टाचारीको हितमा भएकाले हामी संसद्तिर गएर विरोध गर्दैछौं,’ पश्चिम जाभाका २१ वर्षीय विद्यार्थीले भने । जकार्तामा सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी खटाइएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्