स्वास्थ्य दर्पणले मनाए छैटौं वार्षिकोत्सव

काठमाडौं, २५ चैत । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनद्धारा निर्माण गरिएको टेलिभिजन कार्यक्रम ‘स्वास्थ्य दर्पण’को छैटौं वार्षिकोत्सव काठमाडौंमा मनाईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री डा।वंशीधर मिश्रले देशैभर गरिएका ‘स्वास्थ्य दर्पण’ कार्यक्रमका गतिविधि समावेश प्रोफाईललाई प्ले गरी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा चार जना चिकित्सकलाई सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पश्चिम नेपालबाट प्रा।डा।विनोद थापा, मध्य नेपालबाट प्रा.डा.अर्जुन श्रेष्ठ, राजधानीबाट डा.प्रकाशराज रेग्मी र युवा चिकित्कसको तर्फबाट चितवनका डा।भोजराज अधिकारी रहेका छन् ।

नेपालमा रही चिकित्सा क्षेत्रको स्वास्थ्य सेवा र शिक्षामा पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मूल्याँकन गर्दै चिकित्सकहरुलाई सम्मान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनका अध्यक्ष तथा प्रवन्ध निर्देशक सन्दीपकुमार श्रेष्ठले बताउनुभयो । उहाँले यस खाले टेलिभिजन कार्यक्रम निर्माण गर्न अफठ्यारो भएपनि सबैको सहयोग र सद्भाव रहेकाले आगामि दिनमा अझ जनस्वास्थ्यका विषयलाई यस कार्यक्रममा समावेश गर्दै लैजाने बताउनुभयो । यस्तै ‘स्वास्थ्य दर्पण’ कार्यक्रमका क्यामरा पर्सन, सम्पादन, निर्देशकलगायतलाई समेत प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व स्वास्थ्य मन्त्री डा।मिश्रले यस मिडिया नेटवर्कले स्वास्थ्य पत्रकारितामा पुर्‍याएको रचनात्मक कार्यको प्रशंशा गर्नुभयो । राज्यले यस प्रकारका मिडिया हाउसहरुलाई पनि आर्थिक रुपमा सहयोग गर्दै रचनात्मक कार्यका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । मेडिकल क्षेत्रका विषय विज्ञको टिम मार्फत संचालित भएकाले यस मिडिया नेटवर्कले निर्माण गर्ने कार्यक्रमहरुमा जनस्वास्थ्यका महत्वपूर्ण विषय वस्तु समावेश हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले स्वास्थ्य पत्रकारिता क्षेत्रमा स्वास्थ्य दर्पण नेटवर्कले गरेको योगदानले समग्र पत्रकारिता क्षेत्रको गरिमा बढाएको बताउनुभयो । त्यस्तै नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष प्रा.डा.ढुण्डीराज पौडेलले स्वास्थ्य पत्रकारिता मार्फत चिकित्सक, स्वास्थ्यकर्मी, जनसमुदाय र राज्यलाई एकैठाउँ जोड्ने प्रयास गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, मेडिकल ल्याबोरेटरी एशोसियसन अफ नेपाल (मेलान) लायन्स क्लव अन्तराष्ट्रिय, रोटरी क्लव, जेसीज, नेपाल अर्वुद रोग निवारण संस्था, पिन, एन.एम.एस.आर.ए.लगायत स्वास्थ्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

‘स्वास्थ्य दर्पण’ कार्यक्रम वि.सं.२०६८ सालदेखी चितवनको स्थानीय क्रिष्टल टेलिभिजन, राष्ट्रिय हिमालय टेलिभिजन हुँदै हाल साप्ताहिक रुपमा नेपाल टेलिभिजन प्लसबाट प्रत्येक शुक्रबार राती ८ः३० बजे प्रशारण हुँदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्