रियल म्याड्रिड बराबरीमा अन्त्य

म्याड्रिड, २५ चैत्र  / रियल म्याड्रिडको घरेलु मैदानमा भएको म्याड्रिड डर्बीमा रियल र एट्लेटिकोले १-१ को बराबरी खेल्दै अंक बाडेका छन्।  क्रिस्टियानो रोनाल्डोले घरेलु टोलीलाई अग्रता दिलाएपनि एन्टोनियो ग्रिजमानले एट्लेटिकोका लागि बराबरी गोल गरे।

रियलले पहिलो हाफमा गोल गर्ने केहि प्रयास गरेपनि एट्लेटिकोका गोलकिपर जान ओब्लाकले राम्रो बचाउ गर्दै एट्लेटिकोलाई खेलमा जीवित राखे। खेलको ४२ औं मिनेटमा मार्सेलोले गरेको प्रहार बारमा लागेर फर्किएपछि रियलले पहिलो हाफमा अग्रता लिन सकेन।
दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ५३ औं मिनेटमा रियललाई अग्रता दिलाए। बेलको पासमा भली मार्फत रोनाल्डोले गोल गरे। तर रियलले धेरै समय सम्म अग्रता जोगाउन सकेन।

५७ औं मिनेटमा ग्रिजमानले सहज गोल गर्दै एट्लेटिकोलाई बराबरी गोल दिलाए। भिटोलोको टचले नाभासलाई बिट गरेपछि फ्रेन्च फरवार्डले सहजै गोल गरेका थिए। यो बराबरीसँगै एथ्लेटिकोले दोस्रो स्थानमा ४ अंकको अग्रता कायम राखेको छ। एट्लेटिकोको ६८ अंक छ भने ६४ अंकको साथमा रियल तेस्रो स्थानमा छ। १ खेल कम खेलेको भ्यालेन्सियाको ६२ अंक छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्