तरुण दल समाजको सहयोगी बन्नुपर्छ : नेता सिटौला

बनियानी, झापा, २६ चैत / नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दल समाजको सहयोगी बन्न सक्नुपर्ने बताउनुभएको छ । नेपाल तरुण दल प्रदेश नं १ स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको आज बिर्तामोडमा उद्घाटन गर्दै नेता सिटौलाले त्यस्तो बताउनुभएको हो । उहाँले राम्रो कामलाई निरन्तरता र कमजोरीलाई सच्याएर जान सक्ने नीति तरुण दलले बनाउनुपर्नेमा जोड दिनुभयो ।


“तरुण दल समाजले चाहेको सहयोगी बन्न सक्नुपर्छ, यसका लागि प्रशिक्षण आवश्यक छ”, उहाँले भन्नुभयो, “हरेक तरुण नेता आफू परिवर्तन हुन आवश्यक छ ।” सिटौलाले तरुण दलमा भएका कमजोरीलाई सच्याउन निर्देशनसमेत दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले काँग्रेसलाई कसरी ब्यूँझाउने भन्ने अवसर तरुण दललाई प्राप्त भएको उल्लेख गर्नुभयो । काँग्रेस आफूभित्र मात्र बलियो होइन, अन्तरपार्टीमा पनि सक्षम हुनुपर्छ, रिजालले भन्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमार यादवले तरुण आफूले सुरक्षा माग्ने नभएर पार्टीलाई सुरक्षा दिन सक्ने हुनुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीको भ्रातृ संगठनको मजबुत आधार तरुण दल भएको बताउनुभयो । काँग्रेसले राष्ट्रिय मुद्दालाई जनताबीच पु¥याउन नसक्नु नै काँग्रेसभित्रको कमजोरी भएको उहाँको भनाइ थियो । तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल झापा अध्यक्ष गोपाल तामाङले बोल्नुभएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्