पक्राउ गर्न माग गर्दै अग्‍नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं –  सभामुखका एक्ला उमेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उमेदवार बनाएका सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दायर गर्दै तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरेको छ ।

काभ्रेका अर्जुन लामा हत्या अभियोगमा सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन मुद्दाको पेसी भने यही माघ २२ गतेका लागि तोकिएको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले दायर गरेको रिटमा सभामुखका एक्ला उमेदवार सापकोटालाई सभामुख निर्वाचित नगर्न र तत्काल गिरफ्तार गर्नुपर्ने जिकिर गरिएको छ ।

फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ ।

त्यस्तै, अनुसन्धानका लागि प्रस्तुत गर्न, लामो समयसम्म सापकोटालाई गिरफ्तार नगरेको भन्दै सम्बन्धित प्रहरीहरुलाई अदालतको अवहेलनामा कारबाही गर्न पनि रिटमा माग गरिएको छ ।

लामा हत्याको मुद्दा संवेदनशील भन्दै यसको अनुसन्धानका लागि प्रहरीसहितको विशेष टोली गठन गर्न पनि माग गरिएको छ । फौजदारी अभियोग लागेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै मानवअधिकारवादी र नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्