स्वास्थ्य सेवा केन्द्रलाई स्थानियद्धारा निःशुल्क जग्गा प्रदान

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, माघ १० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं. २ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्थानीय एक गुरुङ परिवारले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणका लागि स्थानीय तुलसा गुरुङ र छोरा लक्ष्मीप्रसाद गुरुङले एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।


फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेका अनुसार देउलिङ्गे निवासी गुरुङ परिवारले करिव तीन लाख रुपियाँ मूल्य बराबरको जग्गा स्वास्थ्य सेवा केन्द्रलाई निःशुल्क रुपमा प्रदान गर्नुभएको हो । स्वास्थ्य सेवा केन्द्रको नाउमा बिहीबार मालपोत कार्यलयमा रजिष्ट्रेसन पास गरी उक्त जग्गाको धनीपुर्जा जग्गादाताले वडा कार्यालयलाई हस्तान्तरण गर्नुभएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।


यता स्वास्थ्य सेवा केन्द्रलाई प्राप्त सो जग्गामा यसै आर्थिक वर्षदेखि भवन निर्माणको कार्य थालिने पनि न्यौपानेले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०७६÷७७ मा फुङ्लिङ नगरपालिकालाई पाँचवटा स्वास्थ्य सेवा केन्द्रको संरचना निर्माणका लागि ८३ लाख रुपियाँ बजेट बिनियोजन भएको र सो कुल बजेटबाट वडा नं. २ लाई बिनियोजन हुने बजेट खर्चिएर काम सुरु गरिने उहाँको भनाइ छ । वडा नं. २ को स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गर्न ३९ लाख रुपियाँ बराबरको स्टिमेट बनेको पनि उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्