कवि पूर्ण सन्ध्यासमाधिको कविता संग्रह ‘टेकेर गुँरासमाथि’ विमोचन

काठमाडौं । भोजपुरका कवि पूर्ण सन्ध्यासमाधिको कविता संग्रह ‘टेकेर गुँरासमाथि’ शनिबार विमोचन भएको छ । काङ्सोरे मिडियाको आयोजनामा अनामनगरस्थित पाना क्याफेमा एक कार्यक्रमकाबीच बिमोचन गरिएको हो ।

साहित्यकार दिलिप वान्तावाद्धारा प्रकाशित सो कविता संग्रहको विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भुपाल राईले साहित्यिक यात्राको लाममा पूर्ण सन्ध्या पनि थपिएको बताए । समाधिका लामा कविता भन्दा छोटा कविताहरु अत्यन्तै सुन्दर भएको हुँदा कविलाई छोटो कवितामा जोड दिन सुझाव दिएका थिए ।

‘आफू बाँचिरहेको समाजभन्दा पनि मानवको मानवीयताभित्र अलि धेरै खेलिनु कविको कविताका विशेषता हो’ उनले थपे । कार्यक्रमका समिक्षक जिचेन स्याङ्तानले कवितामाथि समिक्षा गर्दै समाधिका कविता सरलबाट जटिलतर्फ बगेको बताएका थिए । संग्रहमा केहि प्राविधिक त्रुटिहरु भएतापनि आउने संग्रहहरुमा परिमार्जन भएर आउन् भन्ने कामना पनि गरेका थिए । त्यस्तै विशेष अतिथि कवि स्वप्निल स्मृति र दिप्स् शाहले पनि कवि समाधिलाई बधाई तथा शुभकामना दिएका थिए

पसिनाको मूल्य चुकाएर यसरी आफ्नो संग्रह प्रकाशन गरिदिएकोमा प्रकाशक दिलिप वान्तावाप्रति आभार रहेको र उक्त सहयोगको मूल्य आफ्नो लागि अमुल्य रहेको कवि समाधिले बताए । त्यस्तै कुनैदिन १० रुपियाँको सिटामोल सम्म किनेर खान नसक्ने अवस्थामा आफू रहँदा साथ सहयोग गर्ने इन्द्रप्रति आभार प्रकट गर्दै निकै भावुक भएका थिए ।

काङ्सोरे मिडियाको आयोजनामा अनामनगरस्थित पाना क्याफेमा सम्पन्न उक्त कार्यक्रम संजय राईको सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्