श्रीमानमाथि श्रीमतीले खन्याइन् तेजाव

काठमाडौं, २७ फागुन / काठमाडौंको तारकेश्वर नगरपालिका–४, पुरानो गुहेश्वरीमा श्रीमतीले श्रीमानलाई तेजाब प्रहार गरेकी छन् । सोमबार राति २४ वर्षीय रामराजा थापामाथि तेजाव प्रहार भएको हो । प्रहरीले तेजाव प्रहारको घटनामा थापाकै श्रीमती प्रतिमा थापाको संलग्न रहेको आशंकामा पक्राउ गरेको छ । तेजाव प्रहारबाट घाइते रामराजाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उनको मुख र हातमा तेजाव लागेको प्रहरीले जानकारी दिए ।

झ्याल ढोका बन्द भएकाले घरभित्रैबाट आक्रमण भएको आशंका गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले बताएका छन् । घरमा सुतिरहेका बेला थापामाथि तेजाब प्रहार भएको देखिएको डीएसपी राठौर भन्छन्, ‘बाहिरबाट तेजाव हानिएको भए अन्यत्र पनि तेजाब लाग्नु पर्ने हो । तर यहाँ त्यस्तो केहि देखिएन, अनुसन्धान अगाडि बढाइसकेका छौं ।’

घरमा उनकी श्रीमती प्रतिमा र तीन महिनाको बच्चा मात्र रहेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । कोठामा बियरको बोतलमा तेजाब राखिएको पाइएको प्रहरीले जनाएको छ । थापाले पनि प्रतिमाले तेजाब हानेको प्रहरी समक्ष बताएका छन् ।थापा दम्पतीबीच पटक–पटक झगडा हुने गरेको अनुसन्धानमा पाइएको बताएको छ । प्रतिमा श्रीमान भन्दा तीन वर्ष जेठी हुन्, उनी एक होटलमा काम गर्दै आएकी छन् । रामराजा भने सवारी चालक रहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्