च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै

म्यानचेस्टर, २७ चैत्र /  युईएफा च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज राति दुई इंग्लिस टोली म्यानचेस्टर सिटी र लिभरपुल भिड्दै छन् । नेपाली समयअनुसार सो खेल रातिको १२.३० बजे सुरु हुने छ । पहिलो लेगमा लिभरपुलले ३ गोलको अग्रता लिएकाले आज घरेलु मैदानमा सिटी चमत्कारको आशामा हुने छ ।

म्यानचेस्टर सिटीका लागि उनका घाइते रहेका स्टार खेलाडी सर्जियो अगुएरो सुरुवाती ११ मा फर्किँदै छन् । घरेलु लिगमा अर्का महत्त्वपूर्ण खेलाडी केभिन डे ब्रुयनले विश्राम पाएका थिए । यस खेलमा मिडफिल्डमा उनको भूमिका महत्त्वपूर्ण हुने छ । मुख्य डिफेन्समा निकोलास ओटामेन्डीलाई भिन्सेन्ट कम्पनी वा जोन स्टोन्सले साथ दिनेछन् ।

लिभरपुलको मिडफिल्ड भने केही कमजोर देखिएको छ । एम्रे च्याम र जोर्डन हेन्डर्सन घाइते भएकाले जर्जिनिओ वाइनाल्डमले मिडफिल्डमा जेम्स मिल्नर र एलेक्स-अक्स्लेड चेम्बरलेनले साथ दिनेछन् । एभर्टन विरुद्ध विश्राम पाएका मोहम्मद सालाह र रोबर्टो फिर्मिनो पनि टोलीमा फर्किने पक्का छ । सालाह भने सामान्य घाइते पनि रहेका छन् ।

म्यानचेस्टर सिटी प्रिमियर लिगको अग्रस्थानमा रहेको छ भने लिभरपुल तेस्रो स्थानमा रहेको छ । दुवै टोलीले लिगमा आफ्ना केही खेलाडीलाई यस खेलको तयारीका लागि विश्राम दिएका थिए । लिभरपुलले आफ्नो अघिल्लो खेलमा एभर्टन विरुद्ध गोलरहित बराबरी खेलेको थियो भने सिटी चिरपरिचित प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेड विरुद्ध ३-२ ले पराजित हुन पुगेको थियो । एजेन्सी


प्रतिक्रिया दिनुहोस्