बिहीबार १२ घन्टामा ९० हजारले छाडे राजधानी

काठमाडौं । बिहीबार १२ घन्टामा उपत्यकाबाट १६ हजार ८ सय २४ सवारी साधनमा ८९ हजार ८ सय ४ जनाले उपत्यका छोडेका छन् । त्यस्तै १३ हजार ४ सय ५२ वटा सवारी साधनमा ५६ हजार ९ सय २५ यात्रु उपत्यका भित्रिएका पनि छन्।

यात्रु चाप मध्यनजर गर्दै यातायात व्यवस्था विभागले एक महिनाका लागि देशभर रूट पर्मिट खुला गरेको छ। विभागले सूचना जारी गर्दै चैत मसान्तसम्म सबै शैक्षिक प्रतिष्ठान बन्द हुने र परीक्षा स्थगित भएकाले विद्यार्थीहरू मुख्य सहरबाट एकैपटक घर जाने भएकाले वैशाख ३ गतेसम्म रुट परमिट खुला गरिएको जनाएको छ। त्यस्तै विभागले सिट संख्याभन्दा धेरै यात्रु नचढाउन र सवारी साधनको सरसफाइमा विशेष ध्यान दिन यातायात व्यवसायीलाई निर्देशन समेत दिएको छ।

आपतको घडीमा सबैले सहयोग गर्नुपर्ने र यातायात क्षेत्र पनि सहयोग गर्न पछि नहट्ने यातायात व्यवसायी महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।संसारभर कोरोना संक्रमण फैलँदासम्म सरकारले सबभन्दा जोखिमको यातायात क्षेत्रमा भने बेवास्ता गरेको उनको आरोप छ। हामीले बारम्बार बसपार्क र नाकामा हेल्थ डेस्क राख्न भनेका थियौं। शुक्रबारबाट बल्ल सुरू गर्ने रे। मरेपछि औषधि गरेर त भएन नि सिटौलाले भने,गाडी सफा गर्ने भनेका छन्। गर्नु पर्छ तर स्यानिटाइजर अभाव छ, कहाँबाट ल्याउने हामी आफैं किन्छौं बरू, सरकारले यातायात जस्तो संवेदनशील क्षेत्रलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउनु पर्छ ।


प्रतिक्रिया दिनुहोस्