दुवै प्रहरी संगठनमा दुई खनाल आइजीपी नियुक्त नेपाल प्रहरीमा सर्वेन्द्र खनाल , सशस्त्रमा शैलेन्द्र खनाल

काठमाडौं / सरकारले नेपाल प्रहरीको २६ औं आइजीपीमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीको आइजीपीमा एआइजी शैलेन्द्र खनाल नियुक्त भएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्र्रहरीमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्रलाई आइजीपी नियुक्त गरेको हो । नेपाल प्रहरी र सशस्त्रमा पहिलो नम्बरका डीआइजी र एआइजीलाई आइजीपी नियुक्त गरेर सरकारले विवादरहित निर्णय गरेको छ ।

फौजमा पहिलो नम्बरको अर्थ हुन्छ । तर पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गतबर्ष चौथो नम्बरका डीआइजी जयबहादुर चन्दलाई नियुक्त गरेपछि नेपाल प्रहरीमा भाँडभैलो सृजना भयो । पहिलो नम्बरका डीआइजी नवराज सिलवालले बरिष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा आफूलाई आइजीपी बनाउनुपर्ने माग गर्दै सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दिए । सर्वोच्चले पहिलो नम्बरका सिलवाललाई नै आइजीपी बनाउन आदेश दियो । तर सरकारले सर्वोच्चको आदेश पालना नगरी उल्टै प्रधानन्यायाधीध सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे । त्यसपछि दोस्रो नम्बरका प्रकाश अर्याल आइजीपी बनाइएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठताकै आधारमा नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई प्रमुख बनाएर दुवै संगठनको चेन अफ कमाण्ड नबिगार्ने निर्णय गरेका छन् । जुन निर्णयले उनी राज्यका निकायमा राजनीतिक हस्तक्षेप गर्न चाहँदैनन् भन्ने पुष्टी गरेको छ ।

२६ औं आइजीपी खनाल को हुन्

सर्वेन्द्र खनालको जन्म २०२३ वैशाख १३ गते तनहुँको तनहुँसुरमा भएको हो । जागिरे बुबा केदारनाथ खनालसँगै बाल्यकाल बिताउने क्रममा उनी सानैदेखि काठमाडौंको पकनाजोलमा हुर्किए । लैनचौरस्थित शान्ति विद्यागृहमा प्रवेशिकासम्मको अध्ययन गरे । त्यसपछि अमृत साइन्स क्याम्पस अस्कल मा भर्ना भएका उनले २०४६ माघ २९ गते नेपाल प्रहरीको ९० औँ टोलीमा इन्स्पेक्टरबाट आफ्नो जागिरे जीवन शुरु गरेका हुन् । अस्कलमा भर्ना हुँदा अहिले उनीसँगै आइजीपीका प्रतिस्पर्धी पुष्कर कार्की एक व्याच सिनियर थिए । तर, पुष्करले आइएस्सी पहिलो बर्षको पढाई ड्रप गरेपछि क्लासमेट बनेका थिए । रमेश खरेलचाहिँ त्यही कलेजमा पाँच बर्ष पुराना विद्यार्थी थिए । उनी खेलमा रुची भएका कारण खेलाडीका रुपमा ०४५ फागुन १ गते प्रहरी जवानमा भर्ना भए । एक बर्षपछि सर्वेन्द्र र पुष्करहरुसँगै खरेलले पनि इन्स्पेक्टरको परीक्षा उत्तीर्ण गरे । अस्कल क्याम्पसमा सर्वेन्द्रका व्याची थिए, कलाकार तथा सञ्चारकर्मी दिनेश डिसी र सञ्चारकर्मी भूषण दाहाल पनि । साइन्स क्याम्पस पढे पनि यीमध्ये कसैले विज्ञानको क्षेत्रमा करिअर बनाएनन् । दिनेश अहिले रेडियो कान्तिपुरमा आबद्ध छन् भने भूषण कान्तिपुर टेलिभिजनमा छन् ।

सवेन्द्रहरुको ९० टोली २०४६ माघ २९ मा प्रहरी सेवामा भर्ना हुँदा एक नम्बरमा उत्तीर्ण भएका थिए, टीकानाथ पौडेल । तर, द्वन्द्वकालमा जागिर छाडे । त्यो व्याचमा सर्वेन्द्र, रमेश, पुष्कर भन्दा अघिल्लो बरियतामा थिए राजेन्द्रमान श्रेष्ठ । एसएसपीबाट डिआइजीमा बढुवा हुनुअघि उनी प्यारालाइसिसग्रस्त भए अहिले पनि शैयामा छन् । जिवित छन्, तर होस् छैन । राजेन्द्रमान यो व्याचमा महानिरीक्षकका अर्का बलिया दाबेदार मानिएका थिए । अर्का चल्ताफिर्ता मानिन्थे, रञ्जन कोइराला । तर, ०५८ मा सेवा परिवर्तन गरी सशस्त्र प्रहरीमा गएका रञ्जनमाथि पत्नीहत्याको अभियोग लाग्यो । अहिले रञ्जन सदरखोर डिल्लीबजारमा बन्दी जीवन बिताइरहेका छन् भने उनका व्याचीहरु अहिले संगठनको बागडोर सम्हाल्दैछन् । रञ्जनमाथि पत्नी हत्याको अभियोग नलागेको भए यति बेला उनी सशस्त्र महानिरीक्षकको बलियो दावेदार हुने थिए । तर, बलियो दावेदार हुने थिए । तर, त्यही व्याचका शैलेन्द्र खनाल सशस्त्र प्रहरीका आइजीपी नियुक्त भएका छन् ।
सर्वेन्द्रले जनप्रशासनमा स्नातकोत्तर एमपीए गरेका छन् ।

जागिरका सिलसिलामा इन्स्पेक्टर छँदा वडा प्रहरी कार्यालय दरबारमार्ग र कालिमाटीको इञ्चार्जका रुपमा काम गरिसकेका छन । डिएसपी छँदा नगर प्रहरी, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र रामेछापमा काम गरे । एसपीका रुपमा बारा, धनुषा र काठमाडौंको जिल्ला कमाण्ड गरे । एसएसपीका रुपमा उनले अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखा काठमाडौंको कमाण्ड गरे । एसएसपीमा केही समय प्रहरी महानिरीक्षकको सचिवालयमा काम गरेका उनले प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हाले । हाल डीआइजीका रुपमा ट्राफिक महाशाखामा कार्यरत रहेका सर्वेन्द्रले जागिरे जीवनमा उनले २२ वटा विभूषण पाएका छन् भने १२ वटा विभिन्न तालिम समेत हासिल गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्