प्रचण्डले भने, ‘केपीजी ! देख्नुभयो विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ?

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पनि केपी ओलीको प्रतिगामी कदम नसच्चिए केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने बताएका छन् । काठमाडौंमा भएको विरोध सभामा अध्यक्ष प्रचण्डले ओलीको आमसभामा भन्दा धेरै मानिस भेला भएकोप्रति इंगित गर्दै भने, ‘केपीजी ? देख्नुभयो, विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ?’

उनले लाखौँ जनताको उपस्थितिले ओलीलाई आवेग र पीडा भएको बताए । ‘केही दिन पर्खिनुहोला र हेर्नुहोला । सिंहदरबार घेर्न र बालुवाटार घेर्न लाखौँलाख जनता आइपुग्छन्, तपाईंको लोकतन्त्रको हत्या गर्ने आपराधिक चरित्रलाई जनताले बुझिसकेका छन्,’ उनले भने ।गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई सम्झँदै प्रचण्डले कांग्रेस सभापति शेरबहादुरलाई लोकतन्त्र जोगाउन आन्दोलनमा आउन अपिल गरे ।

प्रचण्डले सर्वोच्च अदालतले जनभावनालाई बुझेर अब छिट्टै संविधान र लोकतन्त्रको पक्षमा फैसला दिने बताए । ‘आज सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि देख्नुभयो कि जनता के चाहान्छन् ?सबै जाति, क्षेत्र र अधिकारको पक्षमा साथीहरूले यहाँ आफ्नो धारणा राख्नुभएको छ, मलाई लाग्छ, सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरूले यो जनभावना बुझ्नुभएको छ, र अब ढिलो नगरी संविधान र लोकतन्त्रको पक्षमा फैसला दिनुहुनेछ भनेर विश्वास व्यक्त गर्न चाहन्छु ।’

नयाँ पत्रिका दैनिकबाट


प्रतिक्रिया दिनुहोस्