निर्वाचन रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।

उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् । सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् ।

महानगर र उपमहानगरको हकमा केन्द्रबाटै तालमेलको निर्णय हुने देखिएको छ । बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्