खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा : शिक्षामन्त्री पोखरेल

महोत्तरी / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने बताएका छन् ।


फाइल तस्बिर ।
विभिन्न शिक्षक संगठनले बिहीबार बर्दिबासमा आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा उनले यही चैत २३ गते हुने भनिएको परीक्षा स्थगन भएकाले अब शिक्षकको खुला परीक्षापछि मात्र अस्थायी शिक्षकको परीक्षा हुने जानकारी दिएका छन।

उनले अब चाँडै बाल शिक्षा, विद्यालय शिक्षा र उच्च शिक्षाको समायोजन हुने बताएका छन। प्रदेश नं २ मा एक लाख ९१ हजार बालबालिका विद्यालय बाहिर रहेको जानकारी दिँदै मन्त्री पोखरेलले यस वर्षको भर्ना अभियानमा सम्पूर्ण बालबालिकालाई विद्यालयसम्म पुर्‍याउनमा सबै सरोकारवालालाई आह्वान गरेका छन ।

जिल्ला शिक्षा कार्यालयलाई खारेज गरेर आजैदेखि शिक्षा विकास समन्वय एकाइ समिति गठन गरिएको जानकारी दिँदै मन्त्री पोखरेलले समन्वय समितिमा ५ देखि ९ जनाको दरबन्दी रहने बताएका छन।

कार्यक्रममा एकीकृत नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य केदारबहादुर कोइरालाले शिक्षकहरुमा भएको विभेद अन्त्य गर्न मन्त्री पोरखेलसँग आग्रह समेत गरेका छन। रासस


प्रतिक्रिया दिनुहोस्