पल शाह प्रकरण : किशोरीसँगै बुवाले पनि फेरे बयान

काठमाडौं । कलाकार पल शाहविरुद्ध जबरजस्ती करणीको उजुरी दिएकी नाबालिग किशोरीका बुवाले पनि बयान फेरेका छन् ।

नाबालिगको तर्फबाट प्रहरीमा जाहेरी दिएका बाबुले आइतबार जिल्ला अदालत तनहुँमा गरिएको बकपत्रका क्रममा बयान फेरेको अदालत स्रोतले बताएको छ । बयानका क्रममा उनले शाहविरुद्ध दबाब र प्रभावमा परेर जाहेरी दर्ता गराएको बताएका छन् ।

उनले आफ्नी नाबालिग छोरीमाथि शाहले पटक–पटक बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए ।

यसअघि पीडित भनिएकी नाबालिग किशोरीले समेत शाहले आफूलाई करणी नगरेको भन्दै अदालतमा बयान फेरेकी थिइन् । बयानका क्रममा नाबालिगले अरुको उक्साहटमा परेर शाहविरुद्ध जाहेरी दिएको बताएकी थिइन् ।

जाहेरीवाला नाबालिग र उनका बुवा दुवै जनाले बयान फेरेपछि अब यो प्रकरणले नयाँ मोड लिएको छ । कानुनअनुसार बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानूनी व्यवस्था छ ।

नाबालिगका बुवाले कलाकार पल शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीले किटानी जाहेरीको आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्