अजरबैजानको राष्ट्रपतिमा अलियेभ चौथो कार्यकालका लागि निर्वाचित

बाकु / अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उहाँले कुल मतको ८६.३ प्रतिशत मत ल्याउनु भएको छ । अजरबैजानमा नयाँ राष्ट्रपति चयनका लागि केन्द्रीय निर्वाचन आयोगले बुधबार निर्वाचन गराएर बिहीबार नतिजा सार्वजनिक गरेको हो । उहाँका निकटम प्रतिद्वन्द्वी जाहिड ओरुजले ३.११ प्रतिशत मात्रै भोट ल्याउनु भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा विभिन्न पक्षका गरेर कुल आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिनुभएको थियो । निर्वाचित भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफुलाई समर्थन र विश्वास गरेकोमा अजरबैजनका नागरिकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “अजरबैजनका नागरिकले सुरक्षा र सम्वृद्धिका लागि मलाई मतदान गरेका हुन्, म त्यही अनुसार काम गर्नेछु ।” उहाँको अबको कार्यकाल सात बर्षको हुनेछ । गत सन् २०१६ मा संविधान संशोधन गरेर राष्ट्रपतिको पाँच बर्षे कार्यकाललाई बढाएर सात बर्षे बनाइएको हो । अजरबैजानको संविधानले राष्ट्रपतिलाई आकस्मिक निर्वाचन आह्वान गर्ने अधिकार समेत दिएको छ ।रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्