मादेनको घोषणा पत्र : नगरलाई भ्रष्टाचारमुक्त बनाउने 

गंगा लिङखिम

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको मेयर पदको उम्मेदवार नेपाली कांग्रेसका अमिर मादेनले आफ्नो घोषण पत्र सार्वजनिक गरेका छन् । शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेका हुन् । 

घोषणा पत्रमा मादेनले ‘समुन्नत नगर, सबल स्थानीय सरकार आजको आवश्यकता पारदर्शी र जबाफदेही शासन सञ्चालनमा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारालाई अघि सारेका छन् । 

ताप्लेजुङका सबै नगरबासिहरुको अवधारण विकास गर्दै भ्रष्टाचारमुक्त, जवाफदेही र पारदर्शी शासन प्रणालीको अवलम्बन गरिने उनको घोषणा पत्रमा उल्लेख गरिएको छ । 

नेपाली कांग्रेसले नगरमा आफ्नो सरकार बनाएर आगामी ५ वर्षमा हरेक नगरबासिहरुलाई सम्मानित तवरले जीवन निर्वाह गर्न सक्ने स्थितिमा पुर्‍याउने उल्लेख छ । यस्तै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, खानेपानी, रोजगार र उद्यम विकासलाई प्राथमिकतामा राखिएको छ । 

प्राकृतिक स्रोत र वातावरण संरक्षण, प्रभावकारी सेवा प्रवाह, फोहोर मैला व्यावस्थापन, सामाजिक न्याय र समावेशिता, समन्वय र साझेदारी, मानव अधिकारमा पनि जोड दिइएको छ ।  

 ५ वर्ष भित्र पाथिभरा देविको महत्वपूर्ण प्रचार प्रसार गरी तेब्बर दर्शनार्थी तथा पर्यटक भित्र्याउने साथै विभिन्न कार्यक्रमहरू गरी नगर भन्दा २००० मिटर माथि क्षेत्रमा बायो अर्गानिक चिया खेती तालिम सञ्चालन गरिने छ । 

नगर देखि सबै वडासम्म पक्की सडक वा भरपर्दो सडक, सडक स्तरोन्नति लगायतका प्रतिबद्धता अघि सारिएको छ । मादेनले नेपाल पत्रकार महासङ्घको कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ता साथै पत्रकारहरूको संयुक्त उपस्थितिमा उक्त प्रतिबद्धता सार्वजनिक गरेका हुन् । 

२०७४ सालमा के भएको थियो  ?
२०७४ सालको स्थानीय निर्वाचनमा फुङलिङ नगरपालिकाको मेयर पदमा नेकपा एमालेका छत्र पति प्याकुरेलले विजय हासिल गरेका थिए । उनले जम्मा ३८९५ मत लाई विजयी हासिल गरेका हुन् । यस्तै नेपाली कांग्रेसका केशव प्रसाद दाहालले ३६०६ मत ल्याएका थिए ।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका किर्ती मान मादेनले ७८८ मत ल्याएका थिए भने, स्वतन्त्र उम्मेदवार खगेन्द्र पर्तेलले १० मत पाएका थिए । यो पटको निर्वाचनमा भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेको हुनाले मादेनलाई ठूलै राहत मिलेको छ । 

यस्तै, यता नेकपा एमालेले भने यस अघि विजय हासिल गरेका मेयर छत्रपति प्याकुरेललाई नै मैदानमा अघि सोको छ । तर, उनलाई यो पटका त्यति सजिलो छैन । गएको निर्वाचनमा उनले नेपाली कांग्रेस भन्दा २८९ मतको मात्र अन्तर रहेको छ । त्यस माथि पनि यो पटक गठबन्धन गरिएकोले प्याकुरेललाई गाह्रो नै पर्ने देखिन्छ भने मादेनलाई अलिक सहज देखिएको छ । 


प्रतिक्रिया दिनुहोस्