आचारसंहिता विपरित चुनाव प्रचार प्रसारमा सामुदायिक विद्यालय प्रयोग गरेको भन्दै नेपाली कांग्रेसविरुद्ध निर्वाचन कार्यालयमा निवेदन 

काठमाडौं । आगामी बैशाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले आचारसंहिता विपरित प्रचार प्रसारमा सामुदायिक विद्यालय प्रयोग गरेको भन्दै मिक्वाखोला गाउँपालिकाका स्थानीय बासिले निर्वाचन कार्यालय ताप्लेजुङमा निवेदन दिएका छन् । 

मंगलबार मिक्वाखोला गाउँपालिका–१ मोती माविमा नेपाली कांग्रेसले चुनावी आमसभा गरेको भन्दै निवेदन दिएका हुन् । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएकाले कानुनी कारबाहीका लागि आग्रह गरिएको पनि निवेदकले जनाएका छन्  । यस्तै आज पनि नेकपा एमालेले उक्त विद्यालयलाई प्रयोग गरेका छन् । 

निर्वाचन आचारसंहिताले प्रचारप्रसारमा सामुदायिक विद्यालयको प्रयोग गर्न रोक लगाएको छ । यस्तै बिहान ८ बजे अघि र साँझ ७ बजेपछि प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको छ ।

जुलुस, आमसभा, कोणसभा, बैठक भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने, स्थानीय तह निर्वाचनका लागि हालै संशोधित निर्वाचन आचारसंहिता २०७८ मा भनिएको छ ।

आचारसंहिताले निर्वाचन प्रचारप्रसारका गतिविधिमा १८ वर्ष मुनिका बालबालिकाको प्रयोगलाई पनि निषेधित गरेको छ ।

आयोगले निर्वाचनमा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने र अनलाइन, टेलिभिजन तथा सपिङ मलहरूमा उम्मेदवारका विज्ञापन राख्ने जस्ता भड्किला प्रचार प्रसारमा समेत बन्देज लगाएको छ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचन प्रचारप्रसारका लागि आमसभा वा भेला गर्न स्थानीय प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था छ ।

कुनै पनि दल वा उम्मेदवारले अर्को दलको भेला वा आमसभा बिथोल्न वा वाधा पुर्‍याउन र प्रतिस्पर्धी दलका विरुद्ध प्रचार गर्न नपाउने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ 
 


प्रतिक्रिया दिनुहोस्