लैङगिक हिंसा अन्त्यका लागि स्थानीय तहका संरक्षण कोषको प्रभावकारिता कति ?

गंगा लिङखिम 

कहिले एक्लै बोल्दै हिंड्छििन् । कहिले मुसुक्क हाँस्दै । उनको खुसी या दुःख कसैले नियाल्न सक्दैन उनीबाहेक । आफू के गर्दै छु, के भयोे अत्तोपत्तो छैन अमृता गुरुङलाई । न उनलाई बुबा आमाको सम्झना छ न त कोही आफन्तको । आफूले आफैंलाई राम्रोसँग चिन्न नपाउँदै उनमा यस्तो बज्रपात आइप¥यो जुुन कल्पना पनि गर्न सकिंदैन ।

आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङकी १८ वर्षीया उनी अपरिचित व्यक्तिहरुबाट बलात्कारको सिकार भइन् । त्यस घटनापछि उनको मानसिक सन्तुलन बिग्रियो । त्यही कारण आफूलाई के भएको भन्ने पनि हेक्का छैन । 

अलपत्र अवस्थामा रहेकी उनलाई आठराई त्रिवेणी गाउँपालिकाकोे महिला शाखाबाट सम्पर्क गराई महिला मानव अधिकार रक्षकसम्म पु¥याइएको गंगा यक्सोले बताए । महिला मानब अधिकार रक्षकको सहयोगबाट लैंगिक हिंसाका लागि खडा भएकोे ओसिएमसी हस्पिटलमा पठाएर गर्भ पतन गराइएको उनले बताए । 

अहिले उनी आफन्तहरुको सुरक्षासँगै घरमै बसेकी छन् । उनका लागि अहिलेसम्म गाउँपालिकाबाट कुनै पनि प्रकारको सहयोग नभएकोे यक्सो बताउँछन् । यक्सो भन्छन्, ‘खै अहिले सम्म कुनै प्रकारकोे सहयोग तथा सहायता आएकोे छैैन । नआओस्, कुनै फरक पर्दैन । तर, दोषीहरुको पनि अहिलेसम्म अत्तो पत्तो छैन । दोषीलार्ई कानुनी दायरमा ल्याएर कानुनअनुसार सजाय भए न्याय हुने थियो ।’

यस्तै पाथिभरा याङवरक गाउँपालिका मेहेले निवासी छनिता नेपाली आफ्नोे कान्छा बुबाको घर आठराई त्रिवेणी गाउँपालिका हाङपाङमा बस्ने गर्थिन् । तर, आफ्न्तको भरोसा गर्दागर्दै बलात्कारको सिकार हुन पुगिन् । उनी  आप्नै कान्छा बुवाको छोरा नाताले दाजु र साथी गरी दुईजनाबाट बलात्कारमा परेकी थिइन् ।

उनलाई आठराई त्रिवेणी गाउपालिकाको महिला शाखाले  महिला मानव अधिकार रक्षकसम्म पु¥याएको थियो । महिला मानव अधिकार रक्षकको सहयोगपछि अहिले उनी आफन्तको घरमा बस्दै आएकी छन् । उनलाई गाउँपालिकाले १० हजार रुपैयाँ सहयोग गरेको थियो । अहिले उनी महिला मानब अधिकार रक्षकको निगरानीमा छिन् ।

करणी गर्ने ब्यक्तिहरु अहिले कारागारमा छन् । ‘के गर्नु आफ्नो मान्छेबाट यो गति हुन्छ भने अब दुनियाँको भरोसा कसरी गर्न सकिएला ? समाजले हेर्ने नजर फेरिएको छ । तर, बाँच्नु त छ नै’ छनिता भन्छिन् ‘जसो तसो जीवन चलेको नै छ र चलाउनु पनि पर्ने रहेछ ।’ यसो भन्दैगर्दा उनका आँखा रसाउँछन् ।  

‘मैले आफन्त भनाउँदाहरुबाट यस्तो भोग्नु परेकोे छ । उनीहरु त कुनै बेला बाहिर निस्किएलान् तर, यो चोट सधैंको लागि बाहिर निस्केर जाने कुनै कानुन अहिलेसम्म बनेको छैन ।’ दोषीहरुलाई आजीवन काराबासको सजाय हुनु पर्ने उनकोे माग  छ । 

८ स्थानीय तहमा छैन संरक्षण कोष 
ताप्लेजुङ जिल्लामा ९ वटा स्थानीय तह छन् । एउटा नगरपालिका र ८ वटा गाउँपालिका । जसमा ८ वटा गाउँपालिका मध्ये एउटा गाउँपालिका र बाँकी एक नगरपालिकामा मात्रै लैङगिक हिंसा निवारण कोष खडा गरिएको छ भने । अन्य ७ वटा गाउँपालिकामा उक्त कोष खडा भएको छैन । 

लैंगिक हिंसाका घटनाहरु आए ता पनि लैंगीक हिंसाकै लागि भनेर कोष खडा नगरिएको तर, महिला तथा बालबालिका शाखा  भने सञ्चालन गरिएको आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला बताउँछन् । उनले भने, ‘लैंगिक हिंसा निवारण कोष खडा गर्नु अनिवार्य नै हो । हिंसाका घटनाहरु पनि कहिलेकाहिँ आउने गर्छ । घटना न्यायिक समितिबाट निवारण हुने भएकोेले कोष खडा गरिएकोे छैन । अबका दिनमा आवश्यक भएका कारण कोष खडा गर्ने पहलमा रहेका छौं ।’

मेरिङदेन गाउँपालिकामा पनि लैंगिक हिंसासम्बन्धी आएका घटनाहरु न्ययिक समितिले नै मिलाउने गरेको महिला तथा बालबालिका शाखाकी प्रमुख रविना हाङगाम बताउँछिन् । उनले भनिन्, ‘विशेषगरी यहाँ समाजले लैंगिक हिंसालाई भन्दा पनि महिला हिंसालाई प्राथमिकतामा राखेकाले पनि महिला तथा बालबालिका शाखा मात्र सञ्चालन भएको हुनसक्छ ।’

उनले थपिन, ‘हाम्रो समाज पुुरुष प्रधान समाज भएकाले पुरुषभन्दा धेरै महिला हिंसामा पर्ने गरेका छन् र कहिँकतै पुरुषहरु पनि हिंसामा परिहाले भने इगोका कारण देखाउने नगरेको पाइन्छ ।’    

जिल्लाकै स्थानीय तहहरु पाथिभरा याङवरक गाउँपालिका, सिरिजङघा गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका र फक्ताङलुङ गाउँपालिकामा पनि महिला तथा बालबालिका शाखा मात्र सञ्चालन भएको पाइयो । प्रायःजसोे ती शाखाहरुले महिला तथा पिछडिएका वर्गहरुलाई जनचेना कार्यक्रम साथै तालिमहरु सञ्चालन गर्ने गरेका छन् ।

दुईवटा तहमा मात्रै कोष
जिल्लाको एकमात्र नगरपालिका र एक गाउँपालिकामा लैंगिक हिंसा निवारण कोष स्थापना भएको छ । फुङलिङ नगरपालिका र पाथिभरा याङवरक गाउँपालिकामा उक्त कोेष स्थापना भएको हो । प्रायःजसो महिंला हिंसाका घटनाहरु आउँने गरेको भए पनि केही मात्रामा छुवाछुत, भेदभाव, मानसिक यातना, जबरजस्ती करणी, यौनजन्य दुव्र्यवहार, घरेलु हिंसा जस्ता घटनाहरु आउने गरेकोे पाथिभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङबोले बताए ।

तर, बोक्सीको आरोप, मानव बेचबिखन तथा ओसारपसार र छाउपडी प्रथा जस्ता घटनाहरु भने अहिलेसम्म एउटा पनि नआएको र यसले गर्दा समाजमा केही परिर्वन भएको होे कि भन्ने आभास भएको उनले बताए । 

लैंगिक हिंसा निवाण कोषले श्रीमानले छोडेको एकजना महिलाको उद्धार गरी नागरिकता प्रदान गरिदिएको मेन्याङबोले बताए । उने भने, ‘हामीले एकजना श्रीमानले छोडेर अलपत्र परेको  महिलाको उद्धार कानुनी सहायता मार्फत जिल्ला लागि नागरिकता प्रदान गरेका छौं । साथै उनको बच्चाकोे संरक्षण पनि गरेका छौं । यतिमात्र नभइ उनको नागरिकता बनाउँदाको ओहोरदोहोर खर्च खाने बस्ने खर्च कोषले नै बेहोेरेको होे ।’

उनले थपे, ‘उनलाई सीपमूलक तालिमको व्यवस्था गरी रोजगारीको पहुँचमा पनि पु¥याएका छौं । साथै आर्थिक सहयोग पनि गरेका छौं ।’ विषेशगरी धेरैजसो श्रीमान वैदेशिक रोजगारीका लागि विदेश गई नेपाल नफर्कने अनि अलपत्र भएका श्रीमतीहरु न्यायकोे निम्ति आउने गरेको मेन्याङबो बताउँछन् । 

यस्तै फुङलिङ नगरपालिकामा पनि लैंगिक हिंसा निवारण कोषको स्थापना भएको छ । उक्त कोषले हिंसामा परेकाहरुको उद्धारसँगैै आर्थिक सहयोेग गरेको महिला तथा बालबालिका प्रमुख सीता गुरुङले बताए ।

‘स्थापना भएको यो कोषमार्फत अहिले पीडितहरुलाई औषधि उपचारदेखि कानुनी सहायतासम्म सहयोग गरेका छौं । साथै कुनै पीडितले म घर जान सक्दिन आफ्ना लागि आफैं केही गर्न चाहन्छुु भने उसको लागि ब्यवसाय गर्नका लागि आर्थिक सहायताकोे पनि व्यवस्था गरिएकोे छ ।’

उक्त सहयोग पीडितले निवेदन दिएपछि सञ्चालन समितिकोे बैठक राखेर समितिको निणर्यअनुसार दिइने गुरुङले बताइन् । तर, कोष स्थापना भएपछि अहिलेसम्म कुनै पनि निवेदन नआएको उनले बताए । योभन्दा अघि महिला तथा बालबालिका कार्यालय छुट्टै हुँदा भने पीडितहरु आउने गरेको बताइन् । 

उनले भनिन् ‘पीडितहरु नआउँदैमा लैंगिक हिंसा अन्त्य भएको हो भन्न चाहि मिल्दैन तर, पहिलेको तुलनामा अहिले केही मात्रामा कम भएको पाइन्छ । अहिले शिक्षासँगै जनचेतना वृद्धि अनि सञ्चारको पहुँचका कारण पनि केही मात्रामा न्यूनिकरण भएको छ ।

यसका साथै स्थानीय तहको स्थापना सँगै गाउँपालिकाका पीडितहरुले गाउँपालिकामा नै उजुरी अथवा दिवेदन दिने भएकाले पनि नगरपालिकामा नआएकोे जस्तोे लाग्छ ।’ 

पुरुष पनि हिंसामा पर्छन् ?
नेपाली समाज पुरुषप्रधान भएकोले स्वभावैले पुरुषभन्दा बढी महिला नै हिंसामा पर्ने गरेको पाइन्छ । तर, पुरुष पनि हिंसामा पर्ने गरेको पाथिभरा याङवरक गाउँपालिका अध्यक्ष केशर मेन्याङबो बताउँछन् । 

समाजको अगाडि आफूलाई भलाद्मी देखाउन र आफ्नो प्रतिष्ठामा असर पर्छ भन्ने ठानेर धेरैजसो पुरुषहरुले हिंसामा परे पनि लुकाउने गरेको उनले बताए । उनले भने, ‘यहाँ महिला तथा अन्य हिंसा मात्र नभई पुरुष हिंसा पनि हुने गर्छ । यस्ता घटनाहरु पनि आउने गरेका छन् । तर, धेरै जसो पुरुषहरुले लुकाउने गरेका छन् । विषेशगरी वैदेशिक रोजगारीमा गएका पुरुषहरुको श्रीमतीहरुले सबै सम्पत्ति लिएर भाग्ने गरेका घटनाहरु धेरै आउने गरेका छन् ।’

के हो लैंगिक हिंसा ?
लैंगिक हिंसा लिङ्गका आधारमा हुने हिंसा विश्वका धेरै समाजमा प्राचीनकाल देखि नै समस्याको रूपमा देखिदै आएको छ । लिंगका आधारमा हुने हिंसा भन्नेबित्तिकै महिला हिंसा भन्ने बुझ्ने चलन भए पनि महिला वा पुरूष साथै तेस्रो लिङ्गी भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा घृणा गर्नु, कूटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्कि दिनु, पारिश्रम नदिनु वा कम दिनु, अश्लील शव्द बोन्नु, अश्लील फोटो देखाउनु आदि सबै लैंगिक हिंसा हो । 

लैङ्गिक हिंसाअन्तर्गत महिला र बालिकामाथि हुने हिंसाका साथै पुरुष र बालकप्रति हुने हिंसा पनि पर्दछन् । विश्वका अन्य देशमा जस्तै नेपालमा पनि महिला र किशोरीहरु लैङ्गिक हिंसाको पहिलो निसानामा पर्ने गर्दछन् । 

फुङलिङ नगरपालिका वडा ५ का अध्यक्ष तथा महिला सञ्जाल कोषअध्यक्ष भीमादेवी ओझा स्वाभावैले सबै हिंसाहरु अन्त्य हुन वा ठ्याक्कै सबै न्यूनिकरण गर्न निक्कै गाह्रो विषय भएको बताउँछिन् ।

पहिलेको तुलनामा अहिले धेरै नै न्युनिकरण भएको तर पूर्ण रुपमा अन्त्य गर्नका लागि विषेश गरीतल्लो तह र घर परिवारबाटै अभियान सुरु गर्नुपर्ने उनको भनाइ छ । ‘आफूले आफैलाई बुझाउनु पर्छ र आफूले आफैंलाई बुझ्नु पर्छ । अनि मात्र यो हिंसा अन्त्य हुन सक्छ’ उनी भन्छिन्, ‘किनभने कुनै मान्छेलाई हिंसा गर्दा वा हिंसा भए हामीले तपाईंले हिंसा नगर्नुहोस् भन्दा त्यो मान्छेले आफ्नो मनदेखि नगरेसम्म अन्त्य हुन सक्दैन ।’
    
मनैदेखि अन्त्य गर्दामात्रै हिंसाजन्य कुराहरु रोकिने उनको बुझाइ छ । ‘हाम्रो नेपाली समाजमा धेरैजसोे महिला नै हिंसामा पर्ने गरेका छन्’ उनी भन्छिन्,‘यसका साथै २० प्रतिशत पुरुष पनि हिंसामा पर्ने गरेका छन् ।’

सामाजिक कार्यकर्ता शान्ता आङबुहाङको अनुभवमा हाम्रो समाजमा पहिलेको तुलनामा अहिले लैंगिक हिंसाका घटनाहरु केही मात्रामा कम भएको पाइन्छ । ‘विषेशगरी पहिले सञ्चार माध्यममा पहुँचदेखि हाम्रो समाज धेरै टाढा रहेको थियो । त्यही कारण हिंसाका घटनाहरु बाहिर आउन सक्दैन थिए’ उनी भन्छिन्, ‘यही कारण धेरै घटनाहरु गाउँ समाजमै मिलाउने अथवा गुपचुप गरिने गरिन्थ्योे । तर, अहिले मिडियाकोे पहुँच पुगेसँगै घटनाहरु बाहिर आउछन् र कानुनि दायरामा पुग्ने गरेका छन् । यो सँगै समाजमा शिक्षा, जनचेताको पनि विकाश भएको छ ।’

त्यसैले पहिलेको तुलनामा लैंगिक हिंसाका घटनाहरु केही मात्रामा कम भए पनि निर्मूल भने हुुन नसकेको उनको भनाइ छ । ‘यसको अन्त्य हुुनका लागि भने मबाट सुरु हुन जरुरी छ’ उनले भनिन् । 

तमोर महिला कृषक समूहकी अध्यक्ष तथा फुङलिङ नगर कार्यपालिका सदस्य निता सिवा २१ औं शताब्दीमा पनि हाम्रो समाजमा लैंगिक हिंसाहरु भइरहनु दुखद भएको बताउँछिन् । जनचेतनाको कमीका कारण समाजमा हिंसाका घटनाहरु बढिरहेको उनको अनुभव छ। सरसर्ती हेर्दा समाजमा धेरैजसो महिला हिंसा नै भएको पाइने उल्लेख गर्दै उनले अहिले हरेक घटना तथा परिघटनाका कारण पनि ज्वलन्त उदाहरणहरु देखिने गरेको बताइन् ।

‘यसको मतलब पुरुषहरु हिंसामा परेका नै छैनन् अथवा हुँदैन भन्न भने सकिंदैन । पुरुषहरुले हिंसा भएर पनि समाजमा देखाउन नचाहेको देखिन्छ । एउटा पुरुषले मलाई हिंसा भएको छ, म मेरोे परिवारदेखि श्रीमतिदेखि हिंसित भएको छु, भन्न उ समाजमा चाहँदैनन्’ सिवाले भनिन्, ‘हाम्रो सामाजिक परिवेश पनि त्यस्तै छ । सामाजिक मूल्य मान्यतालाई पनि उसले आधार मानेर म हिंसामा परे भन्न सक्दैन । तर, सामाजमा पुरुष पनि हिंसामा परेका हुन्छन् ।’ 

मुख्य कारण सामाजिक मूल्य मान्यता 
विद्यमान विभेदकारी सामाजिक मूल्य मान्यताले समाजमा लैङ्गिक असमानता बढाउन र महिलाहरुलाई शक्तिहीन अवस्थामा पु¥याउन प्रत्यक्ष योगदान गर्दछ । साथै पुरुषबाट महिला तथा बालबालिका माथि हुने हिंसालाई समाजले स्वीकार गरेको हुन्छ । असमान लैङ्गिक मनोवृत्ति, कुसंस्कारका रुपमा रहेका विद्यमान समाजिक मूल्यमान्यता र विश्वासले धेरै महिला तथा बालबालिकाहरु हिंसाको जोखिममा पर्ने गरेको पाइएको छ । 
साथै यसको बिरुद्धमा खुलेर बोल्ने, मद्दत लिने वा कानुनी उपचार लिने वा नलिने भन्ने निर्णयलाई पनि त्यसले प्रभाव पारेको देखिएको छ ।

घरपरिवार र व्यक्तिलाई लाग्ने कलङ्क र सामाजिक प्रतिष्ठाकै कारणले लैङ्गिक हिंसालाई अदृष्य जस्तै बनाइदिएको छ । यसले पीडितलाई नै आपैm हिंसाको कारण भएको जस्तो बनाइदिने र उनीहरुलाई सम्बन्धित निकायबाट कुनै पनि मद्दत र न्यायिक उपचारबाट बिमुख बनाइदिने पनि गरेको छ । 

के छ कानुनी व्यवस्था ?
हिंसा अन्त्य गर्न कानुनी रुपमा प्रयास नभएको भने होइन । लैङ्गिक विभेदी ऐनहरु संशोधन गरी लैङ्गिक समानताको प्रयास भएको छ । बोक्सीको आरोप (कसुर तथा सजाय) ऐन २०७२, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४, कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१, घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६, जस्ता छुट्टै कानुनको व्यवस्था भएको छ । 

के होेला अन्त्य ?
समाजमा बारम्बार भइरहने लैंगिक हिंसा विकृतिका रुपमा पनि घटेको पाइन्छ । कतिपय उस्तै खालका घटनाहरुले निरन्तरता पाइरहेको देखिन्छ । यसको पुरै अन्त्य हुुन समाज परिर्वतन हुनु आवश्यक हुन्छ । यसको अन्त्य गर्नका लागि जनचेताकोे आवश्यक रहेको पाथिभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर मेन्याङबो बताउँछन् । 

यस्तै मेरिङदेन गउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूकोे धारणा पनि उस्तै छ । अन्धविश्वासको पछि लाग्नाले पनि समाज परिर्वतनको दिशामा तीव्र रुपमा अघि बढ्न नसकेको उनको अनुभव छ ।

‘भेदभाव, छुुवाछुुत घरेलु हिंसा जस्ता घटनाहरु समाजमा घटिरहेका हुन्छन् । जब हामी आफौंबाट यसकोे परिवर्तनकोे सुरुवात गरिंदैन तबसम्म यसकोे अन्त्य हुन सक्दैन’ उनले भने ।

यो समाचार संकलन स्थानिय निर्वाचन अघि गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्