सिर्जनाको प्रश्न पौडेललाई : तपाईं गोरखामा जेल पर्नुहुँदाको समस्यामा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाइ ?

काठमाडौं । नेपाली कांग्रेसले वैशाख ३० मा भएको स्थानीय चुनावबारे औपचारिक रूपमा समीक्षा गरिसकेको छैन ।

काठमाडौंलगायत विभिन्न स्थानीय तहमा कांग्रेसका उम्मेदवार पराजित भएका थिए । सत्ता गठबन्धनसँग मिलेर कांग्रेसले संयुक्त उम्मेदवारी दिए पनि नतिजा आफ्नो हातमा पार्न सकेको थिएन ।

कांग्रेसले चुनावी परिणामबारे छलफल नगरे पनि नेताहरूले भने पार्टीले अघि सारेका उम्मेदवार के कारणले हार्न पुगे भन्नेबारे आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरको मेयरमा उम्मेदवार रहेकी सिर्जना सिंह पराजित हुनुका कारण केलाउँदै राखेको धारणा भने बिबादमा परेको छ ।

केही दिनअघि पौडेलले ‘वंशवाद’का आधारमा सिंहले टिकट पाउँदा जनताले कांग्रेसलाई हराइदिएको र नेताका टाउकामा लौरो बजारिदिएको अभिव्यक्ति दिएका थिए ।

मेयरको उम्मेदवार चयन गर्दा कांग्रेसले जनतालाई हेपेर निर्णय गरेकोले मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह जित्न पुगेको उनको भनाइ थियो ।

पौडेलको यो अभिव्यक्तिबारे काठमाडौंमा मेयर उम्मेदवार भई पराजित भएकी कांग्रेस नेता सिर्जना सिंहले आफूले विगतमा गरेका सहयोग पौडेलले भुलेको बताएकी छन् ।

‘मेरो राजनीतिक यात्रा प्रकाशमान सिंहले भन्दा तपाईं (रामचन्द्र पौडेल) ले पहिले थाहा पाउनु भएको हो,’ पौडेललाई जवाफ दिँदै आइतबार सिंहले ट्वीट गरेकी छन्, ‘मेरो विवाहअघि तपाईं गोरखामा जेल पर्नुहुँदाको समस्यामा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाइरु यो कुरा तपाईंको मुखबाट आउँदा अलि सुहाएन ।’

सिंहले २०३३ सालमै कांग्रेसको सदस्यता लिएर क्रियाशील भएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्