आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने

काठमाडौं । आजदेखि काठमाडौं महानगरबासीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ ।

महानगरले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्रै संकलन गर्ने भएको छ । यस्तो नगर्नेलाई कारबाही हुने भएको छ। फोहोर नुछट्याएमा प्रत्येक पटक पाँच रुपैयाँ जरिवाना हुने महानगरले जनाएको छ ।

काठमाडौंको फोहोर विसर्जन हुँदै आएको सिसडोल क्षेत्रका बासिन्दासँग भएको सहमति अनुसार स्रोतमै फोहोर छुट्याउन लागिएको हो ।

घर, कार्यालय, पसल, रेष्टुरेन्ट र कलकारखानाबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर अलगअलग भाँडोमा राख्नुपर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यसरी छुट्याएको फोहोर संकलन गर्न फरकफरक दिन तोकिएको छ । आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिनेको फोहोर संकलन र व्यवस्थापन गरिने महानगरले जनाएको छ ।

आजबाट फोहोर वर्गीकरण गर्नुपर्ने भए पनि महानगरले भने यसअघिको फोहोर पनि व्यवस्थापन गर्न सकेको छैन । कयौं ठाउँमा दुई सातादेखि फोहोर उठेको छैन ।


प्रतिक्रिया दिनुहोस्