निवर्तमान अर्थमन्त्री शर्मामाथि छानविन प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ ।

अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका छन् । अनाधिकृत व्यक्तिमार्फत करको दर हेरफेर गराएको भनी पश्न उठेपछि २२ असारमा प्रतिनिधिसभाले विशेष समिति गठन गरेको थियो ।

समितिलाई कार्य प्रारम्भ गरेको १० दिन भित्र प्रतिवेदन दिने कार्यादेश सभामुखले दिएका थिए । समितिले गत मंगलबारबाट मात्रै कार्यप्रारम्भ गरेको थियो । ६ दिनसम्म समितिले अर्थमन्त्रालयका बिभिन्न तहका कर्मचारीहरुसँग छलफल गरेको छ ।

छानविन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् ।

मान बहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन् । सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन् ।

छानविन समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार आइतबार अर्थ मन्त्रालयका उच्च तह तथा अन्य विभिन्न तहका पदाधिकारीहरुसँग पनि सोधपुछ भयो ।

आइतबार नै सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटी इन्जिनियर र बजेट महाशाखा प्रमुखसँग पनि सोधपुछ भयो । उनका अनुसार भन्सार विभाग र आन्तरिक राजश्व विभागका महानिर्देशहरु र अर्थ मन्त्रालयमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख र उपसचिवहरुसँग सोधपुछ भएको थियो ।

आइतबार त्यसैको निरन्तरताको रुपमा अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख र अर्थ मन्त्रालयको सीसीटीभीसँग सम्बन्धित काम गर्ने आईटीको इन्जिनियरसँग छलफल गरिएको हो । त्यसपछि बजेट महाशाखा प्रमुखसँग पनि छलफल भयो । राजश्व सचिवसँगको सोधपुछपछि अर्थमन्त्रालयका सचिवसँग छलफल गरेर अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग छलफल सकाएको हो ।


प्रतिक्रिया दिनुहोस्