फिल्म ‘सरी मम’ लाई प्रदर्शनमा नेपाल जेसिजले समन्वय गर्ने

ताप्लेजुङ । लागूऔषधमाथि बनेको फिल्म ‘सरी मम’ लाई प्रदर्शनमा नेपाल जेसिजले समन्वय गर्ने भएको छ ।
लागूऔषधविरुद्धको अभियानको रुपमा सातै प्रदेशमा प्रदर्शनमा आउने फिल्मलाई नेपाल नेपाल जेसिजले समन्वय गर्ने भएको हो।

देशभर रहेका नेपाल जेसिजको १ सय ७४ शाखाहरुले यो फिल्मलाई अभियानको रुपमा अगाडि बढाउने बताइएको छ । सामाजिक विषयवस्तुमा आधारित यो फिल्म लागूऔषधमा फसेका युवाहरूलाई लक्षित गरी निर्माण गरिएको हो ।

नवीन बोगटीको निर्देशनमा बनेको यो फिल्ममा बिनोद लामाको कथा समावेश छ । कथालाई आयुष बुढाथोकी र सरोज पौडेलले लेखेका हुन् । मेकअप आर्टिस्टका रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेका बिनोद फिल्मका कार्यकारी निर्मातासमेत हुन् ।

फिल्ममा सरोज खनाल, सरिता लामिछाने, प्रभात पल, एलिस राई, आरवी कटुवाल, विहान श्रेष्ठ, युनिशा बजगाईंलगायतको अभिनय छ । फिल्मलाई दीर्घ गुरुङले खिचेका हुन् भने सम्पादन प्रितम पाण्डेले गरेका हुन् । फिल्मका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ हुन् ।


प्रतिक्रिया दिनुहोस्