अन्तर्वार्ताका क्रममा महिलाको उमेर सोध्दा एक कम्पनीलाई साढे ६ लाख जरिवाना

एजेन्सी । डोमिनोज कम्पनीले अन्तर्वार्ताका क्रममा एक महिलाको उमेर सोध्दा जरिवाना तिर्नुपरेको छ । यसका लागि कम्पनीले ती महिलालाई ४ हजार २५० पाउन्ड (करिब साढे ६ लाख रुपैयाँ) क्षतिपूर्ति तिर्नु परेको हो ।

बीबीसीका अनुसार उत्तरी आयरल्यान्डमा बस्ने जेनिस वाल्स नामकी एक महिलाले डोमिनोजमा पिज्जा डेलिभरी ड्राइभरको जागिरका लागि आवेदन दिएकी थिइन् ।

काउन्टी टायरोनको स्ट्रबेनमा डोमिनोज पिज्जा फ्रान्चाइजीसँगको अन्तर्वार्तामा जेनिसलाई उनको उमेर सोधिएको थियो । जेनिस वाल्सका अनुसार उनको उमेर र महिला भएकाले उनलाई यो कामका लागि छनोट गरिएन ।

जागिरका लागि छनोट नभएपछि जेनिसले आफूले भोग्नुपरेको भेदभावबारे स्टोरलाई फेसबुक म्यासेज पठाइन् । यसपछि अन्तर्वार्ताकारले उनलाई फोन गरेर माफी मागे । उनले जागिरको अन्तर्वार्तामा कसैको उमेर सोध्नु गलत हो भन्ने आफूलाई थाहा नभएको बताए ।

जेनिसले स्ट्राउबेन फ्रान्चाइजी र यसको अघिल्लो मालिक जस्टिन क्विर्कलाई भेदभावको आरोप लगाएकी थिइन् । त्यसपछि क्विर्कले जेनिसलाई ४ हजार २५० पाउन्ड क्षतिपूर्ति दिने प्रस्ताव गरे र घटनालाई लिएर माफी मागे ।

जागिर नपाएपछि जेनिसले अर्को डोमिनोको कर्मचारीबाट १८ देखि ३० वर्ष उमेर समूहका मानिसलाई यो कामका लागि उपयुक्त मानिन्छ भन्ने कुरा थाहा पाएकी थिइन् ।

यसका साथै उनले चालकको काम पुरुषले मात्र गरेको देखेको र यस्तो अवस्थामा महिला भएकाले आफूलाई काम नदिइएको उनले अनुभूति गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्