सर्वोच्चद्वारा करीव आठ हजार मुद्दा फछ्र्यौट

काठमाडौँ / सर्वोच्च अदालतले आजदेखि नियमित पत्रकार सम्मेलन शुरु गरेको छ । नियमित पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले नौ महिनामा आठ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको विवरण सर्वाजनिक गरेको हो । आज अदालतमा पत्रकार सम्मेलन गरेर अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले साउनदेखि चैतसम्म आठ हजार ३२४ मुद्दा फछ्र्यौट गरेको बताउनुभयो ।

सर्वोच्चले नियमित पत्रकार सम्मेलन गर्ने कार्य तालिकाअनुसार आज पहिलो पटक पत्रकार सम्मेलन गरेर मुद्दाको फछ्र्यौट विवरण सार्वजनिक गरेको हो । उहाँले गत वर्षभन्दा यो वर्ष मुद्दा फछ्र्यौट बढेको बताउनुभयो । गत वर्ष २७ हजार ९२९ मुद्दामा २९.८ प्रतिशत मात्र मुद्दा फछ्र्यौट भएको उहाँले बताउनुभयो । विसं २०७४ भन्दाअघि २१ हजार १७३ मुद्दा र विसं २०७४ मा छ हजार ७५६ मुद्दा सर्वोच्चमा परेका थिए । उहाँले अतिरिक्त समयमा न्यायाधीशले काम गरेको र एउटै प्रकृतिका मुद्दालाई एकै ठाउँमा ल्याएर सुनुवाइ गर्दा मुद्दा बढेको बताउनुभयो ।

उहाँका अनुसार अझै १९ हजार ६०५ मुद्दा फछ्र्यौट गर्न बाँकी रहेको छ । अदालतमा गत वर्ष दुई वर्ष नाघेका चार हजार ४३१ र पाँच वर्ष नाघेका एक हजार २२६ मुद्दा फछ्र्यौट गरिएको छ, जसको प्रतिशत क्रममा ३३.९६ प्रतिशत र ३५.५४ प्रतिशत रहेको छ । अबदेखि सबै सञ्चार माध्यमलाई अदालतका न्याय सम्पादनबारे जानकारी गराउने उद्देश्यले आइतबारदेखि बिहीबारसम्म साँझ ५ देखि ५ः३० बजेसम्म र शुक्रबार ३ः३० देखि ४ बजेसम्म पत्रकार सम्मेलन गर्ने भएको छ ।  रासस


प्रतिक्रिया दिनुहोस्