आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजना पक्राउ, अन्यको खोजी जारी 

ताप्लेजुङ । फुङलिङ नगरपालिकाको वीरेन्द्र चोकमा रहेको आइएमईबाट नगद तथा गरगहना लुट्ने समूहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईका अनुसार उनलाई नगद ६ लाख र झोलामा रहेको गरगहनासहित पक्राउ गरिएको हो । 

उनी फुङलिङ नगरपालिका निवासी भए पनि उनको विवरण प्रहरीले खुलाएको छैन । अरुको खोजी भइरहेको राईले बताए । घटना भएको करिब ४ घण्टा पछि नै संलग्न मध्ये एकजनालाई पक्राउ गरिएको उनले जानकारी गराए ।  खोजी कार्यमा डीएसपी राई सहित शसस्त्र प्रहरी ताप्लेजुङका डीएसपी विनोद थापा नेतृत्वको टोली खटिएको थियो ।

लुटपाटमा चार जनाको संलग्नता रहेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । बाँकी तीन जनाले पैसा र गरगहना बोकेर भागेकाले उनीहरूको खोजी जारी राखेको डीएसपी राईले बताए । तीन जनामध्ये एक जनासँग हतियार रहेको सिसी टिभी फुटेजमा पाइएको छ ।

नगद र गहना चार जनाले नै बाँडेर बोकेको पाइएको छ । आइएमई सञ्चालक अम्बर कुमार श्रेष्ठ र मैया श्रेष्ठले कर्मचारीलाई जिम्मा लगाएर विदेश भ्रमणमा छन् ।

उनीहरूले ११ लाख ५५ हजार नगद र गर गहनासहितका सुनका सामग्री लगेको प्रहरीको प्रारम्भिक अनुमान छ । 


प्रतिक्रिया दिनुहोस्