पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने बैठक बिना सहमति, फेरि बस्ने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट सिट बाँडफाँट गर्ने सम्बन्धमा छलफल गर्न बालुवाटारमा बसेको शीर्ष नेताको बैठक बिना कुनै सहमति टुंगिएको छ ।

मंगलबार बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रुप दिने विश्वास गरिए पनि ठोस सहमति हुन नसकेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुगेको बताउँदै उनले केही क्षेत्रहरुमा मात्र सहमति हुन बाँकी रहेका बताए । मंगलबारको बैठकलाई निष्कर्षमा पुर्‍याउन बिहान दलहरूका आन्तरिक र द्विपक्षीय वार्ता पनि भएको थियो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

त्यसअघि नै गठबन्धनका दलबीच सिट बाँडफाँट गरी दलले आ–आफ्नो दलका तर्फबाट उम्मेदवारको अन्तिम सूची बनाउनुपर्ने हुन्छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता रहेको थियो ।

बैठक आज फेरि बस्ने पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस्