सन्दीप लामिछाने आज काठमाडौँ फर्किंदै, सीधै प्रहरी हिरासत जाने

काठमाडौं । जबरजस्ती करणीको आरोप खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज काठमाडौँ फर्किंदै छन् ।

केही समयदेखि विदेशमा रहेका लामिछाने आज कतार एयरवेजको उडानबाट बिहान १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका हुन् । उनले काठमाडौँ आएलगत्तै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका छन् ।

केही दिन अघि नै उनले आफू आज (अक्टोबर ६ तारिख)का दिन स्वदेश फर्किने र सम्बन्धित अख्तियारप्राप्त अधिरकारीसमक्ष आत्मसमर्पण गर्ने जानकारी फेसबुकबाट दिएका थिए । उनले आफू निर्दोष रहेको र अनुसन्धानमा सबै तवरले सघाउने समेत बताएका छन् ।

क्रिकेट खेलकै क्रममा विदेशमा रहेको बेला गत भदौ २१ गते उनीविरुद्ध एक नाबालिकाले जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । त्यसलगत्तै प्रहरीले अदालतबाट पक्राउपूर्जी काटेर उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत १० दिनअघि ‘डिफ्युजन नोटिस’ जारी गरिएको थियो । डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशका प्रहरीले आफ्नो देशमा सन्दीप भए(नभएको खोजी गरेर पक्राउ गर्न सक्थे ।

अब सन्दीप काठमाडौँ पुगेलगत्तै प्रहरी हिरासतमा बस्नेछन् । उनलाइ थुनामा राखेर नै प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाउनेछ ।


प्रतिक्रिया दिनुहोस्