प्रतिवद्धता पुरा गर्दै अध्यक्ष वनेम, ज्येष्ठ र अपाङ्गता भएकालाई घरमै स्वास्थ्य परिक्षण सेवा सुरु


ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले ६८ वर्ष माथिका ज्येष्ठ नागरिक साथै क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै स्वास्थ्य परिक्षण तथा परामर्श सेवा सुरु गरेको छ । पालिकाले सबै वडाहरुमा मंगलबारबाट स्वास्थ्य सेवा तथा परामर्श सेवा सुरु गरेको हो । जस अन्तर्गत मैवाखोला गाउँपालिकाका सबै वडाहरुमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परिक्षण गरि परामर्श साथै प्राथमिक औषधी सहितको स्वास्थ्य बाकस समेत हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिएका छन् ।

साथै उनले पालिकाका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज होस भन्ने उद्देश्यले र चुनावी अभियानमा समेत आफुले प्रतिवद्धता जनाएकोले सो कुरा आजबाट सुरु गरेको बताएका छन् । अध्यक्ष लिम्बुले भने,“मैले चुनावी अभियानमा ज्येष्ठ र अपाङ्गता भएका व्यत्तिलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता घोषणपत्र मार्फत जनाएको थिए । सो कुरा आजबाट सुभारम्भ भएको छ ।”
प्राथमिक स्वास्थ्य सेवा अन्तर्गत प्रेसर जाँच, मधुमेह (चिनि रोग),ज्वरो लगायत स्वास्थ्य परिक्षण गरिने छ । साथै परिवारको सदस्यको निगरानीमा जिवन जल,मुभ, व्यान्डेज, घाउ सफा गर्ने बेटाडिन,हात खुट्टा हिलोबाट बचाउन हिलोको औषधि,ग्याष्ट्रिकको औषधि, ज्वरो नाप्ने थर्मोमिटर साथै सिटामोल सहितको प्राथमिक औषधि सहितको उपचार बाकस समेत हस्तान्तरण गरिएको छ ।
हरेक महिना पालिकाले स्वास्थ्यकर्मी खटाई ६८ वर्ष माथिका ज्येष्ठ नागरिक साथै क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरि आवश्यक परामर्श दिई औषधिको म्याद हेर्ने म्याद सकिएका औषधि हटाईदिने आवश्यक औषधि थपिदिने पालिकाले जनाएको छ । पालिका अध्यक्षले चुनावी अभियानको समयमा जनाएका प्रतिवद्धता निर्वाचित भएर पदभार सम्हाले देखि नै पुरा गर्न सुरु गरेका थिए । पालिका अध्यक्षले गाउँपालिका भित्रका ज्येष्ठ र अशक्त नागरिकलाई सहज होस भन्ने उद्देश्यले वडा स्तरमा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेका छन् ।

विगत पाँच वर्षसम्म प्राप्त हुन नसकेको जग्गा आफूहरु निर्वाचित भएर आएको चार महिनामै जग्गा गाउँपालिकाको नाममा प्राप्त गर्न सफल भई भवन निर्माणको लागि डिपिआर बनाउने काम भैरहेको अध्यक्ष वनेमले जनाए । पालिकाले पाँच वर्षभित्र एउटा एम.विवि.एस डाक्टर उत्पादन गर्ने योजना अन्तगर्त चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको,३ वर्षभित्र पालिका भित्र बाह्रै महिना संचालन योग्य बनाउने कार्य अन्तर्गत सडक स्तरोन्नती तथा मर्मत कार्य भईरहेको साथै केन्द्रिय सडक अन्तर्गत केन्द्र सरकारको कार्य क्षेत्र भित्र पर्ने भएपनि केन्द्र सरकारले वेवास्ता गरेकोले पालिकाले नै मर्मत गरि हाल बसन्तपुर गुफा साँघु दोभान सडक सुचारु रहेको छ । जसले गर्दा मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाबासीहरुलाई धरान जान सहज भएको अध्यक्ष वनेमको भनाई छ । आफुले चुनावी अभियानका क्रममा जनाएका प्रतिवद्धतालाई प्राथमिकताका आधारमा पुरा गर्दै गई रहेको अध्यक्ष वनेमले जनाए ।


प्रतिक्रिया दिनुहोस्