स्वर्गको एक टुक्रा सिङ्जेमा


एलिना दियाली
ताप्लेजुङ । मुगु जिल्लामा अवस्थित रारा तालको भ्रमण गर्नु धेरैको ड्रिम हुन्छ । धेरैले केयौँ पटक योजना बनाउँदा समेत पुग्न सकि रहेका हुँदैनन् भने जिवनमा एक पटक जानको लागि एक पटकको योजना बिफल भएपनि फेरि योजना बनाउन तर्फ लाग्छन् । रारा तालको भ्रमण गरेर आनन्दको अुनभुति गर्न देश भित्रबाट मात्रै नभई वर्षेनी विदेशी पर्यटकको घुँईचो लाग्ने गर्दछ । यहि अवस्थामा रारा ताल जस्तै ताप्लेजुङमा सिङ्जेमा ताल रहेको छ । ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिका वडा नम्बर ७ ओलाङचुङगोला पर्छ सिङ्जेमा ताल ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट ५ घन्टा गाडीको यात्रामा सुकेपानी पुगिन्छ । त्यही दिन हिंड्न नसक्नेहरुले ईला डाँडामा बस्नको लागि सुबिधा छ । सुकेपानी बाट उकालो लागेपछि जङ्गिममा यात्राको थकानलाई मेट्न पार्टीहरु छ्न । जङ्गिम आफैमा एउटा सुन्दर बस्ती थियो ।
याङमामा आलु बाहेक अन्य चिज उत्पादन हुँदैन । जङ्गिममा याङ्माबाट कृषकले आफुले उत्पादन गरेको आलु ल्याउने अनि फक्ताङ्लुङको सावादिन,खेजेनिम,ईखाबु,लिङ्खिम,लेलेप र तापेथोक का स्थानीयहरु जङ्गिम सम्म अन्न लिएर आलु साट्न लैजाने एउटा ब्यापारीक केन्द्रको रुपमा रहेको स्थानीय बताउँछ्न । यातायात सन्चार शिक्षा स्वास्थ सबैको पहुँच नहुदा बसाई सरेर अन्यत्र गएपछि अहिले जङ्गिम सुनसान भएपनी सुन्दर टार छ । वसन्त रितुमा चिमल,चाप लगायतका फुलहरु फुलेर जङ्गिमको अस्तित्वलाई अझ मनोरम बनाईदिन्छ । चिलिमे,डाँफे,मुनालको दृश्यअवलोकन गर्दै सिन्जेमा ताल तर्फ पाईलाहरु अघि बढदै जान्छ ।

त्यसपछि चार घन्टाको पैदल यात्रामा ओलाङचुङगोला पुगिन्छ । ओलाङचुङगोला पुगेपछि त्यस दिन ओलाङचुङगोलामा बास बस्नुपर्ने हुन्छ । यात्रामा अघि बढि रहँदा क्षितिजबाट चिह्याई रहने अग्ला अग्ला पहाडहरु र चौरी साथै भेँडाका गोढहरुको दृश्यले मनमा आनन्दको अनुभुति हुन्छ । बाटोमा गलैँचा जस्तै फिँजिएका हिमाली दुबोले हात फिँजाएर अतिथिको स्वागतका लागि तयार भएको झैँ आभास हुन्छ । ओलाङचुङगोलामा बास बस्दा हिमालको मिठो पानी सँगै शेर्पा तथा भोटे समुदायको विशेष संस्कार स्वरुप भोटे चियाको स्वाद लिन सकिन्छ ।
अर्को दिन ओलाङचुङगोलाबाट एक घन्टा आधामा दिगासम्बा पुगिन्छ जहाँ बाट ग्रेट हिमालयन ट्रेल छोडेर अगाडि तर्फ तमोर खोलाको गरतिरै गरतिर लाग्नु पर्छ । तमोर नदिको कञ्चन पानि र हरियाली दृश्यलाई अवलोकन गर्दै साथै तमोर नदि भएर बहने चिसोहावाको झोक्काहरुको स्पर्श गर्दै अगाडी बढ्दा करिब एक घन्टा आधामा देउमा टार पुगिन्छ त्यहाँ बाट १५ मिनेटमा राम्ङेसुक्की पुगिन्छ ।
राम्ङेसुक्की एउटा खोलाको किनारमा अवस्थित छ ।जहाँ दुईवटा गोठहरु छ्न । हामीले ती गोठमा आफुले बोकेको खाजा तयारी गर्न लगाएर खान सक्छौँ भने गोढमा मोही साथै छुर्पीको स्वादमा रमाउन सक्छौँ । त्यसपछि एक घन्टामा छेर पुगिन्छ । कोलाहल र भिड भन्दा पर,सुनसान र हरियाली,अग्ला अग्ला पहाडलाई आँखाले भ्याएसम्म कैद गर्दै अघि लाग्दा करिब एक घन्टामा लाजुङ पुग्न सकिन्छ त्यसपछि २० मिनेटमा सिङ्जेमा बेस क्याम्प पुगिन्छ । बेस क्याम्प पुगेपछि ताल हेर्ने कौतुहलताले पाइला अझ तिब्र गतिमा अघि बढ्छन् मानौ ठुलो चिज पाउन लागेका छौँ । यसरि पाईला चाल्ने क्रममा करिब एक घन्टा आधाको यात्रामा सिङ्जेमा ताल पुग्न सकिन्छ ।

समुन्द्री सतहबाट ४ हजार सात सय मिटरमा अवस्थित सिङ्जेमा ताल प्रकृतिको अनुपम उपहार हो । यो तालमा पुग्दा हरकोहीको मन मन्त्रमुग्ध हुन्छ । स्वर्गको एक टुक्रा सिङ्जेमा धेरै वर्ष अगाडि पत्ता लागेको भएपनी प्रचारप्रसारको कमिले दुलाहाको पर्खाईमा बसेकी दुलही झै सिङ्गारिएर बसेको देख्न सकिन्छ । अहिलेसम्म सडक सन्जाल र संचारबाट दुर रहेको ओलाङचुङगोलामा अवस्थित सिङ्जेमा सुन्दर भएर पनि पर्यटकको पर्खाईमा छ ।
तमोर खोलाको किनार नै किनार बाट अघि बढने बाटोमा ठाँउ ठाँउमा देखिने सुन्दर फाँट र टारहरुले हिडदाको थकान महसुस नै हुन नै दिँदैन । जङ्गलमा सिङ लामो भएको सेतो रङका न्याउरहरुको हुल प्रसस्त देख्न पाईन्छ । आकाशको जस्तै निलो रङको कन्चन र सफा पानी करिब एक किलोमीटर लम्बाईमा फैलिएको सिङ्जेमा तालमा पुग्दा त्यहाँसम्म पुग्नलाई हिंड्दाका सारा थकान दुर क्षितिजमा पुग्छ्न । तालको समिप पुगेर हेर्दा लाग्छ यदि संसारमा स्वर्ग काँहि छ भने यहि नै हो ।


उत्तर दक्षिण लोकमार्ग अन्तरगत हाल सुकेपानीसम्म गाडी बाटो पुगेको छ । भने तमोर करिडोरको बाटो चिनसम्म जोडनको लागि हाल बाटो खन्ने काम भै रहेको छ । करिब चैतसम्ममा ओलाङचुङगोलासम्म बाटो पुग्ने गाउँपालिका अध्यक्ष राजन लिम्बु (मुत्ति) ले बताएका छन् । साथै अध्यक्ष लिम्बुले आफुले भर्खरै तालको अवलोकन गरेको बताउँदै तालको प्रचार प्रसार र त्यहाँसम्म पुग्नको लागि यातायात साथै सञ्चार र आवासको विकासतर्फ पालिकाले योजना बनाएर काम गर्ने बताए । उनले भने,“जिवनमा पहिलो पटक पुग्दा छुट्टै आनन्दको अनुभुति भयो । त्यहाँ पुगने हरकोहीलाई कञ्चन र सफा आकाश जस्ते निलो तालको पानी र सुनसान र सुन्दर वातावरणले सन्तुष्टि र खुसिको आभाष हुन्छ । यो सुन्दर तालसम्म पुग्नको लागि यातायात,कुराकानीको सहजतालाई मध्यनजर गर्दै टावर निर्माण र सुरक्षित आवास बनाउन तर्फ पालिका योजना बनाएर लाग्ने छ ।”

मित्र राष्ट्र चिनको बोर्डर र ओलाङ्चुङगोलाको उत्तर पुर्बी भागमा पर्ने सिङ्जेमा तालसम्म पुग्नको लागि यातायात, सञ्चार र ठाँउ ठाँउमा सुरक्षीत आवासको सुबिधा हुने हो भने पर्यटकिय क्षेत्रको रुपमा अझ प्रचार प्रसार र विकास गरि यहाँका बासिन्दाको जिबनस्तर उकास्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्