मिस लिम्बू प्रतियोगिताको आवेदन खुला, हङकङ,युके,सिक्किम र दार्जिलिङमा पनि अडिसन हुने

काठमाडौं । सम्मान मिस लिम्बू प्रतियोगिता हुने भएको छ । याक्थुङ युथ एशोसिएसनले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चैत ११ गते सम्मान मिस लिम्बू (सिसागेन याक्थुङ्मा) २०७९ को छैटौं संस्करण हुने जानकारी दिएको हो ।

प्रतियोगिता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । मौलिक कला संस्कृति जगेर्ना तथा लिम्बू समुदायका युवतीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागेको संयोजक रुकमान लिम्बुले जानकारी दिए । बौद्धिक विकास र सौन्दर्य पहिचान र संस्कृतिु भन्ने मूल नारासहित हुने प्रतियोगितामा नेपालसहित हङकङ, यूके, सिक्कीम, दार्जेलिङलगायत स्थानबाट पनि युवतीहरुको सहभागिता रहने प्रतियोगिता संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार प्रतियोगितामा करिब ३० जना युवतीहरु सहभागी रहनेछन् ।

प्रतियोगिता विजेताले नगद ५० हजारसहित एउटा स्कुटर, दोस्रो हुनेले १ लाख तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै मिस नेपाल आयोजक हिडन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा विजेता मिस लिम्बूलाई आउँदो मिस नेपालमा सिधै प्रवेश गराइने संयोजक लिम्बूले बताए । सहभागिताका लागि एसईई उत्तीर्ण गरेका १७ देखि २६ वर्ष उमेर समूहका अविवाहित लिम्बू युवती हुनुपर्ने मापदण्ड तोकिएको छ ।

प्रतियोगितालाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नुका साथै साथै पूर्वमिस नेपाल माल्भीका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबी आङ्बुहाङलगायतले व्यक्तित्व विकासको तालिम दिनेछन् ।

प्रतियोगिता अडिसन धरानमा यही माघ २८ गते तथा काठमाडौंमा फागुन ६ गते गर्ने तयारी छ ।प्रतियोगितामा १६ वटा सब टाइटलहरु रहनेछन् । यस्तै सम्मान मिस लिम्बू विजेतालाई टाइटल स्पोन्सर सम्मान इन्जिनियरिङ लिमिटेड कम्पनीको ब्रान्ड एम्बासडर बनाइने र कम्पनीमार्फत हङकङ भ्रमण गराइने छ ।


प्रतिक्रिया दिनुहोस्