ओली–प्रचण्डबीचको वान टु वान वार्ता सम्पन्न,भोलि बिहान ९ बजे एकता समितिको बैठक बस्ने

काठमाडौं / पार्टी एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता सम्पन्न भएको छ । नेताहरुबीच एकतामा देखिएका विवादबारे छलफल भएपनि कुनै सहमति हुन नसकेको बताइएको छ । दुई घण्टा लामो छलफलपछि मंगलबार बिहान पार्टी एकता समितिको बैठक बोलाउने सहमति भएको छ ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले भोलि विहान ९ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको बताएका छन। अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच यसअघि सहमति हुन नसकेका विषय एकीकृत पार्टीमा कुन पार्टीको कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विद्यानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताएका छन।

यसअघि यी विषयमा कार्यदलस्तरमा सहमति नजुट्दा शीर्ष नेतालाई सहमति गर्ने जिम्मेवारी दिइएको थियो । तर, विवादित विषयमा ओली र प्रचण्डबीच छलफल नै हुन सकेको थिएन । जसले गर्दा एकतामा अन्यौल थपिदै आएको थियो । यहि अन्यौल चिर्न दुई नेताबीच सोमबार वान टु वान वार्ता भएको हो । सोमबारको दुई नेताबीचको छलफलपछि पार्टी एकतामा ‘ब्रेक थ्रु’ हुने माओवादी नेता अग्नी सापकोटाले बताएका छन।

नेताहरुबीच एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यी बनाउनेमा सहमति भएपनि कुन पार्टीबाट कति जना रहने भन्ने मिलाउन कठिन छ । माओवादीमा झण्डै ४५ सय केन्द्रीय नेता छन् । ‘पार्टी एकताबारे कार्यदलस्तरमा सहमति भएका र नभएका विषयमा समेत शीर्ष तहमा झण्डै दुई सातायता छलफल हुन सकेको थिएन । जसले एकता प्रकृयामै प्रश्न उठन लागेको अवस्थामा दुई नेताबीचको भेटवार्ताले अर्थ नराख्ने कुरा नै हुदैन’ नेता सापकोटाले भने ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा सोमबारको वान टु वानपछि मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने र त्यहि बैठकमा सहमतिको प्रयास हुने एमाले नेता सुवास नेम्वाङले बताए । यसअघि आइतबार अध्यक्ष प्रचण्ड सुकुटे गएपछि प्रधानमन्त्री ओली र माअ‍ेवादी नेता नारायकाजी श्रेष्ठबीच बालुवाटारमा पार्टी एकतामा देखिएका विवादबारे छलफल भएको थियो ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् । दुवै दलले अधिकांश बिषयमा सहमति बनिसकेको दाबी गरेपनि नेताहरुको व्यवस्थापन र निर्वाचन चिन्ह र जनयुद्ध शव्दमा कुरा नमिल्दा पछिल्लो समय एकता समितिको बैठक नै बस्न सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्