हालसम्मकै उच्च संख्यामा पर्यटक भित्रिएको वर्ष २०७४

काठमाडौँ, ३ वैशाख / हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ ।

फाइल तस्बिर

नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सन् २०१६ मा साढे सात लाख पर्यटक आएका थिए । सीमित पूर्वाधार र विभिन्न अस्थिरताबीच पनि उल्लेख्य संख्यामा पर्यटक बढ्नुले पर्यटन क्षेत्रमा ठूलो उत्साह जगाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउनुहुन्छ ।

फाइल तस्बिर

पूर्वाधारको कमीका साथै यही वर्ष सम्पन्न भएका तीन तहका (स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन) तथा अस्थिर सरकार हुँदा पनि विदेशी पर्यटक बढेकाले सरोकारवाला निकायमा उत्साह पैदा गरेको उहाँको भनाइ छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले समग्रमा वर्ष २०७४ निकै उत्साह र उपलब्धिमूलक भएको बताउनुभयो । विसं २०७४ मै निर्वाचनमार्फत स्थिर सरकार गठन भएको छ । यसले पर्यटन व्यवसायमा आशा जगाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्