खेलकुदको विकासमा राज्यले लगानी गर्छ : सांसद अधिकारी

राजेन्द्र न्यौपाने
गोरखा, ३ बैशाख । गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले खेलकुदमा राज्यले लगानी गर्ने बताएका छन् ।

जिल्लाको गण्डकी गाउँपालिका वडा नं. १ स्थित विजया भवानी मा.वि.मा राष्ट्रको लागि खेलकुद र स्वास्थ्यका लागि खेलकुद भन्ने नारा सहित आजबाट सुरु भएको जिल्ला स्तरीय सातौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा नेता अधिकारीले भने “ अहिले राष्ट्र पुरानो ठाउँमा छैन नेपाल नयाँ ठाउँमा आएको छ र राष्ट्रलाई खेलकुद चाहिएको छ । यसरी नै खेलकुदले व्यक्तिको जीवन,व्यक्तिको जीवनमा महत्वपूर्ण स्थान राख्दछ । खेलकुदले व्यक्तिलाई अनुशासित बनाउँछ, अन्र्तनिहित प्रतिभालाई प्रस्फुटित गर्दछ, खेलकुद देश,समाजको महत्वपूर्ण हिस्सा हो । अहिले राष्ट्रिय अन्र्तराष्ट्रिय जगतमा जुन जुन देशहरु अगाडि आईरहेका छन् उनीहरुको इतिहास लामो छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरीसकेपछि खेलकुद क्षेत्रको विकासमा अगाडि बढेको छ । हिजो सिमित समुदायले अवसर प्राप्त गर्दथ्यो भने अव सबैले खेलकुदमा अवसर पाउँछन् यसका लागि राज्यले नीतिगत व्यवस्था गरेर लगानी गर्दछ ।”
कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, शहिद लखन गाउँपालिका प्रमुख रमेश थापा मगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बसन्त गुरुङ, गण्डकी गाउँपालिका वडा नं. १ का अध्यक्ष गिर बहादुर गुरुङ, विजया भवानी मा.वि.का प्रधानाध्यापक डिल बहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । आजबाट शुरु भएको खेल तीन दिन सम्म चल्ने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिं बस्नेतले बताए ।

कार्यक्रम राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता का जिल्ला संयोजक एवं जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष अशोक कुमार गुरुङको अध्यक्षतामा सुरु भएको हो । आज भएको खेलमा छात्र तर्फको लङजममा जनशक्ति मा.वि.नामजुङ, लक्ष्मी मा.वि गाईखुर, अन्नपूर्ण मा.वि खोप्लाङ र छात्रा तर्फ अन्नपूर्ण मा.वि.खोप्लाङ,भैरवाश्रम मा.वि. फुजेल, रामशाह मा.वि. देउराली क्रमश प्रथम ,द्धितिय र तृतीय भएका छन् ।

एकसय मिटर दौडमा छात्र तर्फ भवानी मा.वि. ठाँटी पोखरी, भवानी मा.वि. ठाँटीपोखरी, अकला मा.वि. धुवाँकोट, छात्रा तर्फ रामशाह मा.वि. देउराली, अकला मा.वि धुवाँकोट, जीवनज्योति मा.वि. च्याङ्ली क्रमशः प्रथम ,द्धितिय र तृतीय भएका छन् ।
सटपुट तर्फ छात्रमा भवानी मा.वि. मान्वु, शैलपुत्री मा.वि पाँचखुवादेउराली, प्रभातकिरण मा.वि.लापु, छात्रा तर्फ लक्ष्मी मा.वि गाईखुर, भवानी मा.वि. मान्वु, जनशक्ति मा.वि. नामजुङ क्रमश प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।

एक हजार पाँच सय मिटर दौड तर्फ छात्रामा सुर्योदय मा.वि. घ्याल्चोकका गंगा श्रेष्ठ, भवानी मा.वि ठाँटी पोखरीका गिता गिरी, अमरज्योति जनता मा.वि.का पार्वती शाह र छात्र तर्फ शैलपुत्री मा.विका अनिल गुरुङ, लक्ष्मी मा.वि.का विनोद नेपाली र तारा मा.वि.का बादल नेपाली क्रमश प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गरेका छन् । खेलकुद बुधबार सकिने आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्