सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो ।

गालेर जोख्दा तौल थप घट्ने बताइएको छ। सोमबार टक्सार महाशाखामा नेपाल प्रहरीको सीआइबी, राजश्व अनुसन्धान विभाग र टक्सार महाशाखासहितका प्रतिनिधि बसेर ब्रेक प्याडमा मोरेर ल्याएको सुन पगालेर तौल यकिन गरिएको हो ।

साउन ३ गते हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको सुन राजश्व अनुसन्धान विभागको टोलीले भन्सार पास भइसकेपछि सिनामंगलबाट पक्राउ गरेको थियो । राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन करिब एक क्विन्टल भएको बताउँदै आएका थिए ।

तर, उनको दाबी विपरीत सुनको तौल झण्डै आधा भएको पाइएको हो । सुरुमा यो प्रकरणमा राजश्वले नै अनुसन्धान गरेपनि पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्