फक्ताङलुङ गाउँपालिका इखाबुका पहिरो पीडितलाई राहत वितरण


ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–४ इखाबुका पहिरो पीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिबार वर्षासँगै गएको पहिरोका कारण घर क्षतिग्रस्त भएका दुई र जोखिममा परेका ७ परिवारलाई सोमबार राहत सामग्री वितरण गरिएको हो ।
फक्ताङ्लुङ गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले पहिरोले घर क्षतिग्रस्त भई विस्थापित भएका बिरहाङ लिम्बू र भक्तबहादुर लिम्बूको परिवार र अन्य आंशिक क्षति भएका ७ गरि नौ परिवारलाई राहत सामग्री वितरण गरेको हो ।
घर पूर्णरुपमा क्षति भएका दुई परिवारलाई ५० किलोग्रामका दरले चामलसहितका खाद्यान्न सामग्री र एक–एक थान त्रिपाल वितरण गरिएको छ ।
रेडक्रस सोसाइटीले पनि पहिरोमा घर गुमाएका दुई परिवारलाई भाँडा वर्तन, लत्ताकपडालगायतका सामग्री वितरण गरेको गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)े जानकारी दिनुभयो ।
यस्तै, घर उच्च जोखिममा परेका दिलीप लिम्बू, रामकुमार लिम्बू, चैतन्य लिम्बू, आर्यन लिम्बू र मकरध्वज लिम्बू तथा जोखिममा परेको सुशील लिम्बू र धनवीर लाबुङको परिवारलाई गाउँपालिकाको तर्फबाट एक–एक थान त्रिपाल उपलब्ध गराएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो ।


पहिरो पीडित परिवारलाई प्रभावित क्षेत्रमै पुगेर गाउँपालिका अध्यक्ष लिम्बूसहितको टोलीले राहत सामग्री वितरण गरेको जनाइएको छ ।
गाउँपालिका अध्यक्षका स्वकीय सचिव दिल कुमार लिम्बुका अनुसार इसाई समाज फक्ताङ्लुङ गाउँपालिकाले पनि दुई परिवारलाई ३० किलोग्रामका दरले चामल वितरण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्