मैवाखोलाद्धारा पहिरो पीडित ६५ परिवारलाई अस्थायी आवास गृह हस्तान्तरण

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएको ६५ वटा अस्थायी एकिकृत आवास गृह पीडित परिवारलाई हस्तान्तरण गरेको छ । सोमबार पालिका अध्यक्ष विजय प्रकाश वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्त अस्थायी एकिकृत आवास गृह सम्वन्धित पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।
पालिका अध्यक्ष वनेमका अनुसार अस्थायी एकिकृत आवास स्थल निर्माणका लागि दातृ निकाय तथा बिभिन्न संस्था र व्यक्तिहरुमार्फत ५५ लाख ९२ हजार ७ सय ७० रुपैयाँ सहयोग प्राप्त भएको साथै टोल विकास संस्था,बिद्यालय र समुदायका सदस्यहरुमार्फत श्रमदान सहित ६८ लाख १ हजार र गाउँपालिकाको २६ लाख ६० हजार १७ रुपैयाँ गरी कूल १ करोड ५० लाख ५३ हजार ७ सय ८७ रुपैयाँको लागतमा एकिकृत अस्थायी आवास स्थल निर्माण गरिएको हो । औसतमा एउटा अस्थायी आवास कक्ष निर्माणका लागि २ लाख ३१ हजार ५ सय ९६ रुपैयाँ ७२ पैसाको दरले खर्च भएको समेत पालिकाले जनाएको छ ।

उनका अनुसार मैवाखोला गाउँपालिका वडा नं ४ ओदकका ६२ परिवार र ताम्राङका २ परिवार र वडा नं ३ का एक परिवार गरी अस्थायी एकिकृत आवास स्थलमा ६५ परिवार रहेका छन् । ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र २ परिवार लिम्बू समुदायका रहेको पालिकाले जनाएको छ ।

आवास गृह हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष वनेमले तत्काल अस्थायी आवास स्थलमार्फत सुरक्षित स्थानान्तरण गरिएको र पछि दीर्घकालिन स्थानान्तरण गर्ने योजना बनाईएको जानकारी बताए । आवास स्थलमा ५ जना सम्म सदस्य भएका परिवारका लागि ३६ वटा,८ जना सम्म सदस्य भएका परिवारका लागि २३ वटा र १२ जना सम्म सदस्य भएका परिवारका लागि ६ वटा अस्थायी घर बनेका छन् । आवास स्थलमा ३६ वटा शौचालय र १८ वटा धारा निर्माण भएको गाउँपालिकाले जनाएको छ । आवास गृहमा खानेपानी र पानिको समेत व्यवस्था गरिएको छ ।


साउन ७ गतेबाट निर्माण कार्य सुरु गरी २ महिनाको अवधिमा असोज ७ गते अस्थायी आवास गृह निर्माण सम्पन्न भएको र सोमबार हस्तान्तरण गरिएको हो । गएको असार २ गते देखि आएको अबिरल बर्षापछि गएको पहिरो तथा बाढीका कारण ताप्लेजुङका अधिकाँस पालिकामा क्षति गरेको थियो । सिदिङ्वा गाउँपालिकामा ३ जनाको मृत्यु भएको थियो भने ३ जना अझै बेपत्ता नै रहेका छन् । बाढी तथा पहिरोले मैवाखोला,सिदिङ्वा,सिरिजङ्गा र मेरिङदेन सहितका स्थानीय तह नराम्ररी प्रभावित भएका थिए । सहयोगी सबैप्रति पालिकाले धन्यवाद प्रकट गरेको छ ।


प्रतिक्रिया दिनुहोस्