ताप्लेजुङमा समाजवादी मोर्चाको जिल्ला समिति घोषणा

ताप्लेजुङ, असोज २६ गते । ताप्लेजुङमा समाजवादी मोर्चा नेपालको जिल्ला समिति घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहित चार दल सम्वद्ध समाजवादी मोर्चा नेपालको जिल्ला समिति शुक्रबार घोषणा गरिएको हो ।


सदरमुकाम फुङ्लिङस्थित सामुदायिक भवन (सिटी हल) मा घोषणा तथा सन्देशसभा सम्पन्न गर्दै नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता असल ‘सी’ संयोजक रहेको मोर्चाको जिल्ला समिति घोषणा गरिएको हो । असल नेकपाका केन्द्रीय प्रतिनिधि समिति सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।


कुल १२ सदस्यीय मोर्चाको जिल्ला समितिमा नेकपाकै तर्फबाट रुद्र सी र धनपति सी सदस्यमा चयन हुनुभएको छ । यस्तै नेकपा (माओवादी केन्द्र) का तर्फबाट लक्ष्मी अन्छङ्बो (आवाज), सागरमणि गौतम र मनु मादेन, जनता समाजवादी पार्टी नेपालका तर्फबाट कीर्तिमान मादेन, सूर्य तमु र भक्त येङ्देन, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट छिरिङ लामा, शम्भुप्रसाद गौतम र रामचन्द्र पोमु सदस्यमा चयन हुनुभएको छ ।


यता मोचाको घोषणा तथा सन्देशमा प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य सुशील सी रहनुभएको थियो भने सभालाई सुशील सी, जसपा नेपालका पोलिटव्युरो सदस्य दीपक याक्खा, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य सीता थेबे (प्रमिला), नेकपा एसका केन्द्रीय सदस्य खेमबहादुर वनेम लगायतले सम्बोधन गर्नुभएको थियो ।


सभालाई सम्बोधन गर्दै मोर्चामा आवद्ध दलका नेताहरुले नेपालमा दलाल पूँजीवाद अन्त्यसँगै सबै समस्याको अन्त्य समाजवादले मात्र गर्ने हुँदा समाजवाद स्थापनाका लागि मोर्चा गठन भएको धारणा राख्नुभएको थियो । मोर्चा जिल्लास्तरमा मात्र नभई स्थानीय तह र वडावडामा गठन गर्नु पर्नेमा पनि नेताहरुले जोड दिनुभएको थियो । घोषणा तथा सन्देश सभा कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार हाङ्बाङले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा मोर्चामा सम्वद्ध दलका सयौं नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

गोर्खा पत्र


प्रतिक्रिया दिनुहोस्