इन्डोनेसियामा भूकम्प, दुईको मृत्यु, तीन सय घर क्षति

 

जाकार्ता /  इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ्रोहोेका अनुसार यस भूकम्पको कारण दुई हजारभन्दा बढी व्यक्तिलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । घाइतेहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ ।

स्थानीय समयानुसार बुधबार अपराह्न १३:२८ बजे आएको यो भूकम्प ४.४ म्याग्निच्युडको मात्र भएको त्यहाँको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । तर भूकम्पको केन्द्रबिन्दु चार किलोमिटरमात्र गहिराइमा नै रहेको हुनाले बढी क्षति भएको बताइएको छ । यस भूकम्पका कारण ३१६ घर, चार मस्जिद र दुई वटा विद्यालय भवन क्षतिग्रस्त भएको बताइएको छ । भूकम्प प्रभावित क्षेत्रबाट दुई हजार १०४ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा सयौँको संख्याका उद्धारकर्ता, सेना र स्थानीय बासिन्दाले सहयोग गरिरहेको समाचारमा उल्लेख छ । इन्डोनेसिया बारम्बार भूकम्पले सताउने देशको सूचीमा पर्दछ । सिन्ह्वा


प्रतिक्रिया दिनुहोस्