एफए कपबाट म्यान्चेष्टर सिटी बाहिरियो, मैदानमै कुटाकुट

​काठमाडौं, फागुन ८
म्यानचेष्टर सिटी एफए कपबाट बाहिरिएको छ। इंग्ल्याण्डको नकआउट फुटबल प्रतियोगिता एफए कपको पाँचौ चरणको खेलमा विगान एथ्लेटिक्ससँग १–० ले पराजित हुँदै म्यानचेष्टर सिटी बाहिरिएको हो।

पहिलो हाफको इन्जुरी समयमा फाबियन डल्फी रातो कार्ड पाउँदै बाहिरिएपछि म्यानचेष्टर सिटी दोस्रो हाफमा १० खेलाडीमा सिमित भयो। त्यसको फाइदा उठाउँदै ग्रिक स्ट्रकले ७९ औं मिनेटमा विगानका लागि निर्णायक गोल गरे।

डिडब्लु रंगशालामा भएको खेलमा घरेलु टोली विगानलाई आफ्ना समर्थकको राम्रो साथ थियो। निर्धारित समय सकिएसँगै विगानका समर्थक जितको खुशी मनाउन मैदानमै छिरे।

विगानका खेलाडीले पनि आफ्ना समर्थकसँग मिलेर अप्रत्यासित तर निकै महत्वपूर्ण जितको खुशी मनाउँदै थिए। यहि बेला मैदानमा खेलाडी र समर्थकबिच कुटाकुट भयो।

विगानका एक समर्थक खुशीयाली मनाउने क्रममा सिटीका स्ट्राइकर सर्जियो अग्युरोलाई हिर्काउन खोजे। उनलाई धकेल्न पुगे। अप्रत्यासित हारले रन्थनिएका अग्युरोले ती समर्थकलाई धकेलेर आफूबाट पर पठाउन खोजे । त्यसपछि तनावको अवस्था आयो । त्यतिमात्रै नभएर अग्युरोमाथि समर्थकहरू आइलागे उनी पनि आइलाग्ने माथि जाइलागे।

खेलाडी, खेल पदाधिकारी तथा अरु समर्थकहरूले तनावपूर्ण अवस्था नियन्त्रणमा लिए। यसैबीच घटनाबारे फुटबल एसोसिएसनले छानबिन गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस्