संघीयताको कार्यान्वयनबाट देश समृद्ध बन्ने: मुख्यमन्त्री राई

इटहरी / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पुर्खाको योगदानकै कारण आज नेपालीले विश्वभर गौरव गर्ने स्थान बनाएको बताउनुभएको छ । सुनसरीको इटहरीमा आज संयुक्त भूतपूर्वसैनिक संघ कल्याणकारी महासंघले आयोजना गरेको वीर गोर्खाली दिवस समारोहमा उहाँले भन्नुभयो, “वीर गोर्खाली पूर्वजको गौरवशाली र बलिदानी त्याग एवम् सार्वभौमसत्ता प्रतिको इमान्दारिताकै कारणले आज पनि नेपालले विश्वसामु गौरवपूर्वक शिर ठाडो गर्ने गाथा तयार पारेको छ ।”


मुख्यमन्त्री राईले पर्यटकीय एवम् भौगोलिक विविधताको धनी देश नेपाललाई अघि बढाउने प्रयत्नको आजैबाट थालनी गर्ने हो भने समृद्ध मुलुक बनाउन समय नलाग्ने बताउँदै प्राकृतिक सम्पदासहित संघीयताको घनिभूत सञ्चालनबाट देश समृद्ध बन्नेमा कसैलाई शंका नगर्न आग्रह गर्नुभयो । मुलुकलाई समृद्ध बनाउने मार्गमा सबै नेपाली एक भएर अघि बढ्नुको विकल्प छैन्, उहाँले भन्नुभयो, “संघीयताको माध्यमबाट समृद्ध मुलुक बनाई सार्वभौम नेपालीले शिर उँचो पार्ने आधार तयार गर्ने काममा पनि सबै नेपाली एकतावद्ध भएर अगाडि बढ्न सक्नुपर्दछ ।”

कृष्णकुमार राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा किरात राई यायोक्खा सुनसरीका अध्यक्ष कमला राई, गोरखा डिपार्टमेण्टका सञ्चालक बलराम आचार्य, रत्नबहादुर भण्डारी, छत्रबहादुर कार्की लगायतले पर्यटकीय एवम् भौगोलिक विविधताको धनी देश नेपाललाई अघि बढाउने प्रयत्नको खाँचो रहेको बताउनुभयो । समारोहमा मुख्यमन्त्री राईले गत असार २७ गते अविरल वर्षाका कारण आएको बाढीमा इटहरीदेखि दुहवीसम्म बगेर बाँच्न सफल भएकी सानुमाया राईलाई सम्मान गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्