प्राविधिक त्रुटीले सर्टिफिकेटमा मेरो जन्ममिति फरक छ: डाक्टर केसी

 

काठमाडौं, फागुन ९, त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले आफ्नो सर्टिफिकेटमा प्राविधिक त्रुटीले गलत जन्ममिति भएको स्वीकार गर्दै कसैले छानबिन गर्न चाहे आफूले राजीनामा दिएर सहयोग गर्ने बताएका छन्।

जन्म मितिका विषयमा सामाजिक सञ्जालमा चर्चा भएपछि केसीले बुधबार पत्रकार सम्मेलन गर्दै आफ्ना प्रमाणपत्र सार्वजनिक गरेका हुन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति छानबिन गर्नुपर्ने माग गर्दै आएका केसीले आफूले जस्तै पराजुलीले पनि प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दिएका छन्।

‘प्राविधिक त्रुटीले मेरो एसएलसीको सर्टिफिकेट र नागरिकतामा फरक मिति छ, कसैले यसको छानबिन गर्छ भने म पदबाट राजीनामा दिएर सहयोग गर्न तयार छु,’ केसीले भने।

केसीको नागरिकतामा उनको जन्म मिति २०१३ असोज २७ गते उल्लेख छ। उनले त्यही नै आफ्नो आधिकारिक जन्ममिति भएको तर प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा २०१३ माघ २४ गते हुन गएको स्पष्ट पारेका छन्। उनले बढुवाका लागि भरिएका फारममा मानवीय त्रुटीका कारण फरक जन्ममिति भरिएको भए आफूले त्यसलाई स्वीकार्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्