दिगो उत्पादकत्व वृद्धि स्तरोन्नतिको पूर्वशर्त

 

 

काठमाडौँ / नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरूले दिएका छन् ।

यहाँस्थित बंगलादेशी राजदूतावास र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान प्रतिष्ठान ९आइएसएसआरले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको ‘अल्पविकसित राष्ट्र बंगलादेशको स्तरोन्नति प्रक्रिया नेपाललाई शिक्षा’ विषयक कार्यशालामा उनीहरूले दिगो आर्थिक विकासका आधार तयार नभएसम्म नेपालको स्तरोन्नति अति कठिन हुने बताए । कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यावसायिकीकरण, विमानस्थल, द्रुतमार्गजस्ता भौतिक पूर्वाधार निर्माण तथा सञ्चालन, पर्यटकीय महत्वका देशभरका क्षेत्रमा सुविधासम्पन्न होटल निर्माण तथा सञ्चालन, विशेष आर्थिक क्षेत्र सञ्चालन, सूचना तथा सञ्चार प्रविधिको अत्यधिक उपयोग, उत्पादन र सेवा क्षेत्रको विस्तार तथा तिनको दिगोपनाको सुनिश्चितता पनि स्तरोन्नतिका निम्ति अपरिहार्य भएको उनीहरूको कथन थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुशासन, प्रवद्र्धन, दिगो आर्थिक विकासबाट नै विकासशील राष्ट्रमा स्तरोन्नति हुने आधार भएका बताउँदै पर्यटन ऊर्जा उत्पादनका क्षेत्रबाट नै राष्ट्र अधिक लाभान्वित हुने बताउनुभयो । उहाँले बंगलादेशले गरेको प्रगति नेपालका निम्ति प्रेरणाको विषय भएको बताउँदै सार्कको सदस्य राष्ट्रका नाताले दुवै देशले अनुभव आदान प्रदान गरी विकास स्तरोन्नतिको लक्ष्य हासिल गर्न सक्ने बताउनुभयो । नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते शाम्सले बंगलादेशको स्वतन्त्रता आन्दोलनमा नेपालबाट प्राप्त नैतिक एवं भौतिक सहयोगप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध शताब्दिऔँदेखि प्रगाढ रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्