आज मन्त्रिपरिषद विस्तार हुने, को को बन्दैछन् मन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। फागुन तीनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले सोही दिन एमालेबाट दुई जनालाई मन्त्री नियुक्त गरेका थिए।

एमाले र माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडमा सहमति भएपनि दुवै दलमा मन्त्रीका आकाक्षी धेरै भएपछि सरकार विस्तार हुन सकेको थिएन्। तर, आइतबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि प्रधानमन्त्री ओलीले सोमबार सरकार विस्तार गर्ने तयार गरेका हुन्। त्यसकालागि आजै तीन बजे सपथ गराउन राष्ट्रपति कार्यालयसँग समय माग गरिएको एक नेताले जनाए।

दुई दलबीच यसअघि नै एमालेले प्रधानमन्त्री कार्यालयसहित ११ मन्त्रालय लिने र माओवादी केन्द्रले गृहसहित सात मन्त्रालय लिने सहमति भइसकेको छ। माओवादीको भागमा गृह, जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहकारी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन्।

माओवादीले रामबहादुर थापाको नेतृत्व सात मन्त्री सरकारमा पठाउने भएको छ। माओवादीबाट थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत,मातृका यादव, गिरिराजमणि पोखरेल तथा बीना मगर मन्त्री बन्ने निश्चित भएको स्रोतले जनाएको छ।

यसैगरी एमालेले इश्वर पोखरेल, प्रदीप ज्ञवाली, रविन्द्र अधिकारी, रघुवीर महासेठ, हृदयेश त्रिपाठी, नारमुनि रानालाई मन्त्री बनाउने बताएको छ। यसअघि एमालेबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री भइसकेका छन्। एमालेले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्रीलाई नै दिएको थियो।


प्रतिक्रिया दिनुहोस्