सीमामै विषादी जाँच्न निर्देशन

रासस, फागुन १५, २०७४

काँकडभिट्टा– मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले पूर्वी नाका काँकडभिट्टाबाट विषादीयुक्त र प्रतिबन्धित खाद्य वस्तुको आयात कडाइका साथ रोक्न सीमाका सरकारी कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मेची भन्सार तथा प्लान्ट, खाद्य र पशु क्वारेन्टाइन कार्यालयका अधिकारीलाई नगरपालिकाको कार्यालयमै सोमबार बोलाएर उनले निर्देशन दिएका हुन् । मानव स्वास्थ्यमा घातक असर पुर्याइरहेको गुणस्तरहीन आयातीय खाद्य वस्तुलाई सीमामै रोक्न आफू अब गम्भीर भएर लाग्ने जानकारी दिँदै उनले भारतबाट आउने सबै खाद्य वस्तुलाई अनिवार्य गुणस्तर जाँच्न निर्देशन दिए ।

माछा, तरकारी, फलफूल, पेय पदार्थ, पत्रुखानालगायत सबै खाद्य वस्तु अब सीमामा नजाँची भित्र्याउन नदिइने नगरपालिकाले नीति लिएको नगरपालिकाका खाद्य विश्लेषक दीपेन्द्र कार्कीले बताए ।

सीमाका कार्यालयले सुँघेर र छामेर माछालगायत खाद्य वस्तुको गुणस्तर जाँच गर्ने पुरानो चलन तत्कालै बदलेर वैज्ञानिक प्रयोगशालाको माध्यमबाट गुणस्तर जाँच्न नगर प्रमुख आचार्यले निर्देशन दिए । भन्सार कार्यालयका अधिकृत गणपति कँडेलले गुणस्तर जाँचेको प्रमाणपत्रका आधारमा मात्र सामानको आयात अनुमति दिने गरिएको र त्यसैबमोजिम कर असुल्ने गरिएको बताए ।


प्रतिक्रिया दिनुहोस्