पाँचजना आरोहीद्वारा कञ्चनजङ्घाको सफल आरोहण

ताप्लेजुङ, ५  जेठ / ताप्लेजुङस्थित नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको पाँचजना आरोहीले सफल आरोहण गरेका छन् ।

                                                   ताप्लेजुङस्थित विश्वको अग्लो हिमाल कञ्चजनजङ्घा (८५८६ मि.) । तस्बिर: प्रयास ।

दुई नेपालीसहित पाँचजनाको टोलीले आठ हजार ५८६ मिटर उचाइ रहेको कञ्चनजङ्घाको बुधबार सफल आरोहण गरेका हुन् । यता हिमपात र चिसो सिरेटोसँगै मौसम प्रतिकुल हुन थालेपछि कञ्चनजङ्घाको आरोहणका लागि गएका पाँच दर्जन बढी आरोही भने लक्ष्य पूरा नगरी फर्कन थालेका छन् । उक्त सङ्ख्यामध्ये ३० जनाको टोली अझै आरोहणको प्रयासमा रहेका कञ्चनजङ्घाको चुचुरोमा पुगेर फर्किनुभएका सफल आरोही सोलुखुम्बुका पेम्बा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

यसअघि सन् २०१२ मा पछिल्लो पटक कञ्चनजङ्घा हिमालको सफल आरोहण भएको थियो । त्यसयता छ वर्षपछि यसवर्ष कञ्चनजङ्घाको शिखरमा मानव पाइला पु¥याएर पाँचजना आरोही फर्किएका हुन् । गएको बुधबार पेम्बा ग्याल्जेन शेर्पासहित संखुवासभाकै लाक्पा शेर्पा कञ्चनजङ्घाको चुचुरोमा पुग्न सफल बन्नुभएको हो । उहाँहरुसँगै विदेशी नागरिकहरु अष्ट्रेलियाका क्रिश्चिन प्याट्रिसियन बुर्क, रसियाका सेर्गे र जर्मनका थर्बोले पनि कञ्चनजङ्घाको आरोहण गर्न सफल हुनुभएको छ ।

पेम्बा ग्याल्जेनले कञ्चनजङ्घाको पूर्वी मोहोडाबाट आरोहणमा सफलता प्राप्त गरेको बताउनुभयो । उहाँका अनुसार आरोहणकै प्रयासमा रहेका अन्य आरोहीको आरोहण यात्रा पनि पूर्वी मोहोडाबाटै सुरु भएको छ । आरोहीका अनुसार कञ्चनजङ्घा आरोहणका लागि दोस्रो, पाचौं र सातौं क्याम्प अरु भन्दा कठिन रहेको बताइएको छ । यसपटक आफुहरुले हिमपात र चिसोका कारण निक्कै कठिनपूर्ण कञ्चनजङ्घा आरोहण यात्रा सफल गरेको पेम्बा ग्याल्जेनले जानकारी दिनुभयो । हिमाल आरोहण सम्पन्न गरी फर्कने क्रममा हेलिकप्टरमार्फत शनिबार सदरमुकाम फुङ्लिङ आइपुग्नुभएका उहाँले अब ३० जना आरोहीले अझै आरोहणको प्रयास जारी राखेका बताउनुभयो । उहाँका अनुसार अनुसार आरोहणका प्रयासमा अधिकांस इटाली, भारतीय, रसियन, बुल्गेरियन, पोल्याण्ड र अष्ट्रेलियाका नागरिक छन् । एक्सपीडीसन वेसका द्वितीय निर्देशक समेत रहनुभएका पेम्बा ग्याल्जेनले मौसम अनुकुल भई दिएमा उहाँहरुको आरोहण सफल हुनसक्ने बताउनुभयो ।

यस्तै अघिल्लो वर्षदेखि कञ्चनजङ्घा आरोहणका लागि गरेको प्रयास दोस्रो पटक यसवर्ष पनि सफल नभएपछि फर्किनुभएकी आरोही माया शेर्पाले मौसममा देखिएको अचानकको परिवर्तन आरोहीका लागि बाधक बनेको जानकारी दिनुभयो । ‘थ्री ओमेन, थ्री टप’ नारा दिएर विश्वका तीन अग्ला शिखरको सफल आरोहण गर्ने लक्ष्यका मायासहित तीनजना महिलाको टोलीले लिएको लक्ष्य पूरा हुनलाई कञ्चनजङ्घा हिमाल नै बाधक देखिएको छ । उहाँहरुले यसअघि विश्वका दुई अग्ला हिमाल नेपालको सगरमाथा र पाकिस्तानको माउन्ट केटुको भने सफल आरोहण गर्नुभएको बताइएको छ ।

आरोहणका लागि निक्कै अप्ठ्यारो मानिन्दै आएको कञ्चनजङ्घा हिमाल यसअघि तीन सय ११ जनाले मात्र सफल आरोहण गरेको तथ्याङ्क छ । पहिलो पटक सन् १९५५ मे २५ मा युकेका नागरिक द्वय जर्ज क्रिस्टोफर ब्याण्ड र जो ब्राउनले कञ्चनजङ्घाको सफल आरोहण गरेको तथ्याङ्क रहेको छ । यसपटक पाँचजनाले सफल आरोहण गरेपछि अब कञ्चनजङ्घा आहोरण गर्नेको सङ्ख्या बढेर तीन सय १६ पुगेको छ ।

यता कञ्चनजङ्घा आरोहणका क्रममा दर्जनौले ज्यान समेत गुमाएका छन् । सन् २०१३ र २०१४ को मे महिनामा मात्रै नौ जना आरोहीले ज्यान गुमाएका थिए । सन् २०१४ मे मा सेभेन समिट ट्रेकिङ एजेन्सीमार्फत कञ्चजङ्घा आरोहणमा गएका चारजनाको ज्यान गएको थियो । उक्त वर्ष ज्यान गुमाउनेमध्ये एक भारतीय नागरिक कलकत्ताका ३५ वर्षीया चन्दा गायन तथा दुई जना नेपाली संखुवासभा साविक ताम्कु ५ बस्ने २४ वर्षीय तेम्बा शेर्पा र २८ वर्षीय दावा वाङ्चु शेर्पाको मात्र सनाखत भएको थियो । प्रहरीको अभिलेख अनुसार कञ्चनजङ्घा हिमालको पाँचौ आधार शिविर अर्थात सात हजार ३०० मिटरको उचाइमा पुगेका बेला हिउँमा चिप्लेर उहाहरुको मृत्यु भएको थियो ।

यस्तै सन् २०१३ मा सेभेन समिट ट्रेकिङ एजेन्सीमार्फत नै कञ्चनजङ्घा हिमाल आरोहणमा गएका तीन विदेशीसहित पाँच जनाको हिम पहिरोमा परी मृत्यु भएको थियो । त्यसबेला सेभेन समिट ट्रेकिङ एजेन्सीका कोरियाली नागरिक नामसो पार्क, हंगेरियन नागरिकद्वय जेड सोल्ट इरोर र पिटर किस तथा दुई जना नेपाली संखुवासभा साविक मकालु ५ का फुदोर्जी शेर्पा र हटियाखोला ७ का विवस गुरुङको मृत्यु भएको थियो । हिमाल आरोहणका क्रममा सात हजार १०० मिटरको उचाइमा पुगेकाबेला हिम पहिरोमा परी उहाँहरुको मृत्यु भएको हो ।

-प्रयास लिम्बू

 


प्रतिक्रिया दिनुहोस्