क्युबामा विमान दुर्घटना: एक सयभन्दा बढीले ज्यान गुमाए

जेठ ५ / हवाना(एक सयभन्दा बढीको ज्यान जानेगरी भएको विमान दुर्घटनापछि क्युबा शोकमा डुबेको छ।शुक्रबार बोइङ ७३७ विमान दुर्घटनामा परी एक सय एक जनाले ज्यान गुमाएका छन्। बाँचेका ३ जनाको अवस्था पनि चिन्ताजनक छ। क्युबाका उड्डयन अधिकारीहरुले विमानमा १०४ यात्रु र चालक दलका ५ सदस्य सवार रहेको बताएका छन्।

क्युबाको राजधानी हवानास्थित जोसमार्टी अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो। हवानाबाट उडेको सो विमान क्युबाको पूर्वी भूभागमा पर्ने ओल्गिन सहरतर्फ जान लागेको थियो। मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ।

उडेको केही क्षणमा विमान बाँझो जमिनमा धस्सिएको थियो। धुँवाको ठूलो मुस्लो देखिएलगत्तै उद्धारको कार्य सुरु भएको थियो। परिचालित सबै जनाले उद्धारको काम थालेको भए पनि विमानमा आगो लागेकोले समयमै यात्रुहरुलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरुले जनाएका छन्।

उक्त विमान मेक्सिकोको एक विमान कम्पनीबाट भाडामा लिएर क्युबाले चलाउँदै आएको बताइएको छ। यो विमान क्युबाको सरकारी एयरलान्सको जहाज हो। यसैबीच क्युबाका उड्डयनमन्त्री र राष्ट्रपति दुर्घटनास्थल पुगेका छन्। राष्ट्रपति मिगेल डिआस कनेलले मृतकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै आपत्कालीन उद्धारमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई चुस्तताका साथ काम गर्न आग्रह गरेका छन्।

एजेन्सी,


प्रतिक्रिया दिनुहोस्