ताप्लेजुङमा लागुऔषधको प्रयोगकर्ता बढ्दै

ताप्लेजुङ, जेठ ९ गते / ताप्लेजुङमा लागुऔषधको प्रयोगकर्ता तथा यसको कारोबार बढ्दै गएको छ । लागुऔषध ब्राउनसुगर (खैरो हिरोइन) सहित एकजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जिल्लामा लागुऔषधको प्रयोगकर्ता बढ्दै गएको जनाएको हो । मङ्गलबार झापादेखि ताप्लेजुङतर्फ आएको सवारी साधनलाई जाँच गर्ने क्रममा ३८.४५ ग्राम खैरो हिरोइनसहित फुङ्लिङ नगरपालिका वडा नं. ५ बस्ने २९ वर्षीय रोहित श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । झापाको बिर्तामोडबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको मे १ ज २८२४ नम्बरको टाटा सुमो जिपमा सवार रहेका श्रेष्ठमाथि शङ्का लागेर चेकजाँच गर्दा ज्याकेटको गोजीभित्र प्लाष्टिकमा पोको पारी लुकाएर राखेको अवस्थामा लागुऔषध फेला पारेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।

लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका रोहित श्रेष्ठलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर ः प्रयास ।

प्रनाउ बस्नेतका अनुसार लागुऔषध लुकाइछिपाई ल्याउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङस्थित मेवाखा प्रहरीचौकीको चोकपोष्ट नजिकबाट उक्त परिमाणको लागुऔषधसहित श्रेष्ठलाई पक्राउ गरिएको हो । पक्राउपछि श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको र श्रेष्ठको बयानका अधारमा जिल्लामा २५ देखि ३० जनाको सङ्ख्यामा लागुऔषध सेवन गर्ने र यसको कारोबार गर्नेहरु रहेका खुल्न आएको प्रनाउ बस्नेतले बताउनुभयो ।
पछिल्लो समय लागुऔषध सेवनकर्ता तथा कारोबारीको सङ्ख्या बढ्दै गएको भन्ने चर्चा हुने थालेपछि प्रहरीले सुरु गरेको खोजी अभियान अन्तर्गत यो सफलता प्राप्त गरेको प्रनाउ बस्नेतले बताउनुभयो ।

अब लागुऔषध सेवन र यसको कारोबार गर्नेको पहिचान तथा अनुसन्धानको कार्यलाई तीब्र पार्ने पनि उहाँले बताउनुभयो । एकजना लागुऔषध खैरो हिरोइनको प्रत्यक्ष कारोबारी तथा सेवनकर्ता पक्राउ परेपछि अन्यको पहिचान गर्नलाई अब अझ सहज हुने भएको उहाँको भनाइ छ ।
लागुऔषध सेवनकर्ता तथा कारोबार गर्ने पक्राउ परेको यो पहिलो घटना भने होइन । यसअघि पनि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले लागुऔषधको प्रयोगकर्तालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । आजभन्दा चार वर्षअघि ताप्लेजुङका एक र इलाम साँखेजुङका समेत दुईजनालाई पाँच ग्राम ब्राउनसुगर (खैरो हिरोइन) सहित पक्राउ गरेको थियो ।
त्यसबेला पनि झण्डै तीन वर्ष अघिदेखि नै ताप्लेजुङमा औषधि भन्दै लागुपदार्थलाई भित्र्याउने गिरोह सक्रिय रहेको तथ्य फेला परेको थियो । पूर्वको धरान, झापा लगायतका क्षेत्रमा रहेका आफ्ना साथी तथा आफन्तको सङ्गतबाट ताप्लेजुङमा खैरो हिरोइन, गाँजा, अफिम लगायतका लागुऔषधको कारोबार हुन थालेको र यहाँका युवाहरुले सेवन गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । यता लागुऔषध सेवन गर्नेहरु १६ देखि ३५ वर्ष उमेर समूहका रहेका प्रनाउ बस्नेतले जानकारी दिनुभयो ।
प्रयास लिम्बू

 

 


प्रतिक्रिया दिनुहोस्