गृहमन्त्री थापाको निर्देशन-सरूवा बढुवाको राजनीति बन्द गर

काठमाडौं, फागुन १६ बुधबारः  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीको सरूवा बढुवामा हुने राजनीतिक चलखेल अन्त्य गर्ने बताएका छन्।

पदभार ग्रहण गरेको तेस्रो दिन बुधबार मन्त्री थापाले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरे।

निरीक्षणपछि महानिरीक्षकसहित वरिष्ठ प्रहरी अधिकृतलाई निर्देशन दिँदै थापाले भने, ‘म बहुमतप्राप्त सरकारको मन्त्री हुँ। पहिलेजस्तो नसोच्नु,चलखेलको साटो आफूले केही काम गरेर देखाउने परिपाटी बसाउनतिर लाग्नू।’

मन्त्री थापाले अपराध अनुसन्धान र शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका निभाउने प्रहरीले राजनीति गरेको नसुहाउने उल्लेख गर्दै नयाँ कार्यशैलीका साथ काम गर्नु पर्ने अहिलेको आवश्यकता भएको बताए।

 

बुधबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै गृहमन्त्री थापा।

‘प्रहरी संगठनभित्र केही राजनीति भएको छ, त्यो मैले महशुस गरेको छु, अब त्यस्तो हुदैन, संगठनलाई राजनीतिमुक्त बनाउने छु। त्यसमा तपाईंहरूको साथ र सहयोग चाहिन्छ,’ मन्त्री थापाले भने, ‘प्रहरीभित्र विभिन्न समस्या छन्, प्रदेश प्रहरी ऐन बनेको छैन, साधन स्रोतको कमी छ, त्यसलाई मैले राम्रोसँग बुझेको छु।अब ती कुरा पूरा गर्न लाग्नेछु, विचलित नभएर बस्नु।’

नेपाल प्रहरीलाई विश्वकै रोलमोडल बनाउन सकिने उल्लेख गर्दै गृहमन्त्री थापाले यसका लागि नयाँ योजना र नयाँ संरचनाको विकासका साथ अगाडि बढनु पर्ने औंल्याए।

‘नयाँ ऐनको व्यवस्था, भौतिक साधन स्रोत सम्पन्न बनाउनेतर्फ ठोस योजनासहित मन्त्रालयले काम गर्छ, त्यसका लागि तपाईंहरूको सुझाव खाँचो छ,’ मन्त्री थापाले भने।


प्रतिक्रिया दिनुहोस्