मलेसियामा ज्यान गुमाएका भाइको शव लिन गएका दाजुको दुर्घटनामा मृत्यु

 काठमाण्डौं /  मलेसियामा ज्यान गुमाएका भाइको शव लिएर फर्कदै गरेका फक्तालुङ गाउँपालिका–२ खेजेनिमका भक्तबहादुर सवेहाङको पनि दुर्घटनामा मृत्यु भएको छ । मेचीराजमार्ग अन्तर्गत पाँचथर टारीमा पिकअप जीपबाट झरेर उनको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते भएका ४३ वर्षीय उनलाई उपचारका लागि पाँचथर लैजानेक्रममा बाटोमा मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।

बैदेशिक रोजगारीका लागि दुईवर्ष अघि मलेसिया पुगेका भाइ देवीप्रसाद लिम्बुको एकसाताअघि मृत्यु भएको थियो। उनको पनि सडक दुर्घटनामा परी मृत्यु भएको खबर आएको तर खास कारण खुलिनसकेको छिमेकी जगन पौडेलले बताए। भाइको शव लिन एकजना साथी लिएर दाजु काठमाडौं गएका थिए। भाईको गाउँकै घाटमा अन्तेष्टि गर्न बा १७ च ८४५१ नम्बरको पिकअप रिजर्भ गरेर ल्याउने क्रममा मंगलबार बिहान दुर्घटना भएको हो।

भाइको शवसँगै पिकअपको पछाडि वसेका उनी उकालो बाटोमा गेयर परिवर्तन गर्दा खसेको चालक मनोज श्रेष्ठले प्रहरीलाई बताएका छन्। चालक श्रेष्ठ जोरपोखरी प्रहरी चौकीको नियन्त्रणमा रहेका छन्। दाजुभाइ दुवैजनाको शव जोरपोखरी प्रहरी चौकीमा राखिएको छ। घट्नाबारे थप अनुसन्धान भइरहेको पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताएका छन।


प्रतिक्रिया दिनुहोस्